मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दानाको ३०औँ जन्मदिनको अवसरमा उनको प्रतीक्षित चलचित्र ‘मायसा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले रश्मिकाको जन्मदिनलाई खास बनाउन चलचित्रमा उनको शक्तिशाली र आक्रामक अवतार झल्किने पोस्टर सार्वजनिक गरेको हो।
रवीन्द्र पुल्लेको निर्देशनमा बनिरहेको यो एक्सन-थ्रिलर चलचित्रमा रश्मिका मुख्य भूमिकामा छिन्। सार्वजनिक गरिएको ब्ल्याक एन्ड ह्वाइट पोस्टरमा रश्मिकाको अनुहार धूलो र रगतले लतपतिएको देखिन्छ।
उनको आँखामा आक्रोश र अनुहारमा एक प्रकारको कठोरता झल्किएको छ। निर्माण पक्षले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै रश्मिकालाई ‘शुद्ध आक्रोश’ का साथ आउन लागेको भन्दै जन्मदिनको शुभकामना दिएको छ।
आदिवासी इलाकाको कथामा आधारित ‘मायसा’ सन् २०२६ को सबैभन्दा चर्चित चलचित्रमध्ये एक मानिएको छ। प्यान इन्डियास्तरमा निर्माण भइरहेको यो चलचित्रमा गहिरो भावनात्मक कथा र भरपुर एक्सन रहने बताइएको छ।
चलचित्रको संगीत जेक्स बिजोयले तयार पारेका छन्। यसअघि चलचित्रको टिजर सार्वजनिक भएको थियो ।
रश्मिकाका लागि आगामी वर्ष निकै व्यस्त रहने देखिएको छ। उनी ‘मायसा’ बाहेक बलिउड चलचित्र ‘ककटेल २’ मा शाहिद कपूर र कृति सेननका साथ देखिनेछिन्।
त्यस्तै, उनले आफ्ना पति तथा अभिनेता विजय देवरकोंडासँगै पिरियड एक्सन ड्रामा ‘रणबाली’ मा पनि स्क्रिन सेयर गर्दैछिन्। जसमा उनले ‘जयम्मा’ नामक महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन्।