मुम्बई । सुपरस्टार रजनीकान्त ७५ वर्षको उमेरमा पनि अभिनय र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । हालै चेन्नई एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा पुस्ताका लागि आफ्नो पढाइ र भविष्यप्रति गम्भीर हुन आग्रह गर्दै नशा वा रक्सी जस्ता नराम्रा बानीबाट टाढा रहन सुझाएका छन् ।
‘युवाहरूले आफ्नो जीवनका बारेमा गम्भीर भएर सोच्नुपर्छ । यदि तपाईं गलत बाटोमा लाग्नुभयो भने तपाईंको जीवन नर्क बन्न सक्छ’, उनले अगाडि भनेका छन्– ‘स्वस्थ रहनुहोस् । नशा वा रक्सीको लतमा नपर्नुहोस् । उनले यदि तपाईंलाई केही चोट लाग्यो वा क्षति भयो भने त्यो तपाईंको मात्र होइन, तपाईंको आमाबुबा र पूरै परिवारको क्षति हो ।’
उनले नशा गर्ने साथीबाट समेत टाढा रहन सल्लाह दिएका छन् । रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर २’ को छायाङ्कन पूरा भएको छ ।
हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको फिल्म २०२३ को ब्लकबस्टर फिल्म ‘जेलर’ को सिक्वेल हो । नेल्सन दिलीप कुमार निर्देशित ‘जेलर२’ आगामी जुन १२ मा रिलिज हुनेछ । फिल्ममा मिथुन चक्रवर्तीको विशेष भूमिका रहने छ ।