×

वीरगञ्ज । करिब ६ दशकसम्म निरन्तर नेपाली राजनीतिमा प्रभाव राख्दै पाँच पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रा अहिले गम्भीर मोडमा पुगेको छ। सरकारले देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी अनुसन्धानका लागि मंगलबार पक्राउ पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीका नाममा रहेको चल–अचल सम्पत्ति रोक्का गरिसकेको छ। पक्राउ पुर्जी जारी गरिएसँगै उनीहरूलाई ‘फरार सूची’मा राखिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

गृह मन्त्रालयका एक अधिकारीले बताएअनुसार, “विदेशमा रहेका देउवा दम्पतीलाई नेपाल फर्काउन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारीसहित पक्राउ पुर्जी जारी गरिएको हो।”

विभागको आधिकारिक पत्रका आधारमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार पक्राउ अनुमति दिएको हो।

देउवा र उनका प्रमुख स्वकीय सचिव तथा भतिज भानु देउवा १३ फागुनमा नै सिंगापुर प्रस्थान गरेका थिए। आरजु राणा देउवा दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन् भने केही दिनअघि उनी हङकङ पुगेको जानकारी उल्लेख गरिएको छ।

पक्राउ पुर्जी जारी भएसँगै नेपाली राजनीतिको ‘सिंगापुर अध्याय’ फेरि एकपटक चर्चामा आएको छ। यस घटनाले न केवल कांग्रेसभित्र तर मुलुकको समग्र राजनीति नै नयाँ तरंगमा प्रवेश गरेको राजनीतिक विश्लेषकहरूको आकलन छ।

Back to top