×

वीरगञ्ज । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसका आधारमा आज मन्त्री साहलाई पदबाट हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री साह नियुक्त भएको केवल १४ दिनमै उनी पदमुक्त भएका हुन्।

रास्वपा सभापति लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए।

यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले विस्तृत अध्ययन गर्दै मन्त्री साहविरुद्ध कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनसहित सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष औपचारिक सिफारिस पठाएका थिए।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार सोही सिफारिस र प्रमाणका आधारमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई तत्काल प्रभावबाट पदमुक्त गरेका हुन्।

रास्वपाले पार्टी विधानको धारा २५(४)(क) अनुसार सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादाको रक्षा गर्ने अधिकार रहेको र धारा ६९ अनुसार पदको दुरुपयोग भएमा जिम्मेवारी फिर्ता बोलाउने व्यवस्था भएको उल्लेख गर्दै साहलाई हटाउने निर्णय गरेको हो।

यस्तै, यस विषयमा अपेक्षित गम्भीरता नदेखाएकी भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए। प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई पनि औपचारिक रूपमा सचेत गराइसकेको प्रेस विज्ञ दाहालले बताइन्।

मन्त्री साहको बर्खास्तीपछि सरकारभित्रको शुद्धिकरण र पदीय मर्यादाप्रतिको कडाइ चर्को राजनीतिक चर्चा बनेको छ।

Back to top