×

वीरगञ्ज । वीरगञ्जस्थित वीरगञ्ज नरायणी अस्पतालले सेवा प्रवाहमा बाधा पुगेको भन्दै अनधिकृत रूपमा भिडियो तथा अडियो खिच्ने पत्रकार तथा सामाजिक सञ्चालकर्मीमाथि रोक लगाएको छ। अस्पतालका विभागीय प्रमुखहरूको २०८२ चैत २७ गतेको बैठकले गरेका निर्णय अनुसार अबदेखि अस्पताल प्रशासनको स्वीकृति लिएर मात्र तोकिएको समयमा समाचार संकलन वा दृश्य सामग्री तयार गर्न सकिनेछ।

अस्पतालले उपचार कक्ष, ओपिडी, नर्सिङ स्टेसन तथा चिकित्सक कार्यस्थलमा अनधिकृत रूपमा छिर्ने, तस्वीर वा भिडियो खिच्ने गतिविधिले सेवा प्रवाहमा बाधा आएको भन्दै यस्तो कदम उठाइएको जनाएको छ।

यस्तै, नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार परिवर्तन गरिएको कार्यालय समयबारे पनि अस्पतालले स्पष्टता जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ चैत २७ गतेको परिपत्र अनुसार २०७७ को विस्तारित अस्पताल सेवा कार्यक्रम कार्यविधिअनुरूप मिति २०८२ चैत २९ गतेदेखि अस्पतालको ओपिडी तथा सम्पूर्ण सेवा आइतबारदेखि शुक्रबारसम्म साविक समयमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ।

साथै, सरकारी निर्देशन अनुसार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ओपिडी लगायतको बहिरङ्ग सेवा सञ्चालन गरिनेछ। अस्पतालले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयका निर्णयको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ। उक्त सूचना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले जारी गरेका हुन्।

Back to top