वीरगञ्ज । बालेन्द्र शाह (बालेन) को सार्वजनिक सम्पत्ति विवरणमा उनकी श्रीमती सविना काफ्ले को नाममा ठूलो परिमाणमा सुन देखिएपछि त्यसको स्रोतबारे प्रश्न उठ्न थालेको छ।
आइतबार सार्वजनिक विवरणअनुसार सविना काफ्लेको नाममा १ सय ९० तोला (करिब २ किलोभन्दा बढी) सुन रहेको उल्लेख गरिएको छ, जसको स्रोत “पुख्र्यौली सम्पत्ति” भनिएको छ।
उक्त विवरण सार्वजनिक भएसँगै नेपाली समाजमा दाइजो, पुख्र्यौली सम्पत्ति तथा सम्पत्तिको पारदर्शितासम्बन्धी बहस पुनः चर्किएको छ। विवाहित महिलाको नाममा देखाइने यस्ता सम्पत्तिलाई व्यवहारतः दाइजोको रूपमा व्याख्या गरिने प्रचलन रहेको भन्दै स्रोतबारे स्पष्टता आवश्यक रहेको धारणा व्यक्त भइरहेको छ।
सामाजिक सञ्जालमा कतिपयले यदि उक्त सम्पत्ति साँच्चिकै पुख्र्यौली हो भने त्यसको पारिवारिक स्रोत पुष्टि हुनुपर्ने तर्क गरेका छन्। नेपालमा दाइजो लिनु कानुनविपरीत हुने भएकाले यस विषयले कानुनी बहससमेत जन्माएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरूको भूमिकाबारे पनि चर्चा सुरु भएको छ, किनकि विगतमा अन्य दलका नेताहरूले यस्तै विवरण सार्वजनिक गर्दा उनीहरूले विरोध गर्दै आएका थिए।
तर, बालेन्द्र शाहका समर्थकहरूले भने सम्पत्ति विवरण कानुनअनुसार सार्वजनिक गरिएको र विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको दाबी गरेका छन्।