बारा । बारा–पर्सा औद्योगिक करिडोरस्थित जगदम्बा स्टिल प्रा.लि. ले पर्सा राष्ट्रिय निकुञ्जको करिब २५ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोपसहितको अनुसन्धान फाइल २ वर्षदेखि विभिन्न निकायमा घुमिरहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गतेदेखि अनुसन्धान सुरु गरेको उक्त प्रकरणमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र पर्सा राष्ट्रिय निकुञ्ज बीच पटक–पटक पत्राचार भए पनि ठोस निष्कर्ष नआएको स्रोतले जनाएको छ।
आरोपअनुसार उद्योगले निकुञ्जको जग्गा अतिक्रमण गरी पूर्वाधार निर्माण गर्दै व्यापारिक प्रयोग गरिरहेको छ। साथै नजिकैका अन्य उद्योगहरूले समेत जग्गा मिचेको भन्दै उजुरी परेको छ।
मध्यवर्ती क्षेत्र परिषद्का अध्यक्षका अनुसार सरकारी निकायबीचको समन्वय कमजोर हुँदा अनुसन्धान अल्झिएको छ भने नापी तथा भूमि शाखाले जग्गा मिचिएको प्रतिवेदन बुझाइसकेको भए पनि कारबाही अघि बढ्न नसकेको बताइएको छ।
उद्योगले केही भागमा खोलासमेत ढलान गरेर प्रयोग गरेको भेटिएको भूमि प्रशासनले जनाएको छ। तर निकुञ्ज प्रशासनले भने अनुसन्धान टुंगिएपछि मात्र आधिकारिक सूचना सार्वजनिक गर्ने जनाएको छ।
स्थानीय सरोकारवालाहरूले तत्काल निष्कर्ष निकालेर अतिक्रमित जग्गा खाली गराउन र कानुनी कारबाही अघि बढाउन माग गरेका छन्।