×

वीरगञ्ज । पर्सामा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय चौरसियाको आइतबार साँझ वीरगञ्ज–११ रानीघाटस्थित एक घरमा कुटपिट गरी हत्या गरिएको थियो।

प्रहरीका अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साहको कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।

उक्त घटनामा संलग्न सन्तोष साह, उनकी पत्नी सोनी कुमारी, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक का अनुसार चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर चारै जनाले रडले प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको बताइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top