वीरगञ्ज । शनिबारदेखि सुरु हुन लागेको पाँचौँ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
परवानीपुरस्थित खेलमैदानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत शक्ति युवा क्लबले वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको हो।
एक सातासम्म चल्ने प्रतियोगितामा नेपालका ७ टिम र भारतको १ टिमसहित कुल ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक संजय मण्डलले जानकारी दिए। उनका अनुसार सहभागी टिमहरूमा आयोजक शक्ति युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, वीरगञ्ज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जन जागृति युवा क्लब सिमरा, चिडियादह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब रहेका छन्।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगिता करिब १७ लाख रुपैयाँको लागतमा आयोजना गरिएको सहसंयोजक दिपक यादवले बताए। खेल दैनिक साँझ ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड तथा हरेक दिनका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ५ हजार १०० रुपैयाँ नगद पुरस्कार दिइने अध्यक्ष सुबोध श्रीवास्तवले जानकारी दिए।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको आयोजकले आग्रह गरेको छ।
पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, पूर्व खेलाडी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा खेलकुदलाई राजनीतिक प्रभावबाट टाढा राख्दै स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।