×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. चुमनलाल दास पुनः फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नीति योजना महाशाखामा कार्यरत डा. दासलाई काज फिर्ता गर्दै पुनः नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएको हो।

डा. दासलाई यसअघि पनि २०८१ साल असोजको पहिलो साता नारायणी अस्पतालको मेसुमा नियुक्त गरिएको थियो। करिब एक वर्ष उक्त जिम्मेवारी सम्हालेपछि उनलाई मन्त्रालयले काजमा सरुवा गरी नीति योजना महाशाखामा पठाएको थियो।

बिहीबार स्वास्थ्य मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार एघारौँ तहका उच्च कर्मचारीहरूको सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने क्रममा डा. दासलाई पुनः नारायणी अस्पतालमा पठाइएको हो।

यसै क्रममा मन्त्रालयका अन्य महत्त्वपूर्ण महाशाखाहरूमा पनि नेतृत्व परिवर्तन गरिएको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने तथा हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा मन्त्रालयमा पदस्थापन भएका छन्। यद्यपि उनीहरूलाई कुन महाशाखाको जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

त्यस्तै, स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ भने गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ, यद्यपि हाल उनी बोर्डमै कार्यरत रहनेछन्।

मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न यस्तो कदम चालेको जनाएको छ।

Back to top