×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल ले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन देशभर स्थायी र अस्थायी संरचना विस्तार गर्ने योजना अघि बढाएको छ।

बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगर ले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्थायी बेस र ६० वटा अस्थायी बेस सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार हालसम्म सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमालगायत स्थानमा ६ वटा बेस स्थापना भइसकेका छन्। मौसमजन्य विपद् न्यूनीकरणका लागि अस्थायी बेसहरू पनि विस्तार गर्ने चरणमा रहेको उनले बताए।

सशस्त्र प्रहरीले ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रममार्फत स्थानीय तहमा जनशक्ति उत्पादन गर्दै आएको छ। गत वर्ष ९९० जना र चालू वर्ष हालसम्म २२९ जनाले तालिम पूरा गरेका छन् भने १३५ जना तालिमरत छन्। प्रत्येक वडामा २५ जनाको दरले स्वयंसेवक तयार गर्ने लक्ष्य राखिएको छ।

हाल सशस्त्र प्रहरीले चार वटा स्थायी अपरेसनल युनिटमार्फत विपद् व्यवस्थापनसम्बन्धी कार्य सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गण सक्रिय छन्।

एआईजी मगरका अनुसार विभिन्न तालिममार्फत ४ हजार ५१३ दक्ष जनशक्ति उत्पादन गरिएको छ भने देशभर ८ हजार १ सय १० सशस्त्र प्रहरी संलग्न विपद् समर्पित टोली परिचालन गरिएको छ।

यद्यपि, पर्याप्त जनशक्ति भए पनि उद्धार सामग्रीको अभाव चुनौतीको रूपमा रहेको उनले बताए। देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभूत सामग्री अपुग रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरी सामग्री व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिए।

Back to top