काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले ‘राष्ट्रिय फोटो पत्रकार दिवस २०२७’ को अवसरमा काठमाडौंमा अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित ‘पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया, पुरस्कार घोषणा तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष वन्तले यस्तो जानकारी दिनुभएको हो।
उहाँका अनुसार सम्मेलनमा एसियासहित विश्वभरबाट एक सयभन्दा बढी फोटो पत्रकारलाई आमन्त्रण गरिनेछ। बङ्गलादेशलगायत विभिन्न मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन फोटो पत्रकारिता प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै उहाँले एशियाली देशका फोटो पत्रकारलाई नेपालमा ल्याएर पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने योजना रहेको बताउनुभयो।
अध्यक्ष वन्तले एशियाली देशहरूको साझा फोटो एसोसिएसन स्थापना गर्न सके त्यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसका लागि आफू सक्रिय रूपमा पहल गरिरहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा उहाँले राज्यको निरन्तर उपेक्षाका कारण व्यवसायिक फोटो पत्रकारहरूले सङ्घर्षपूर्ण जीवन बिताउन बाध्य भएको गुनासोसमेत गर्नुभयो। साथै, आगामी दिनमा सम्बन्धित निकायसँग सहकार्य गर्दै फोटो पत्रकारितालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।