रौतहट । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालन हुँदै आएका ‘फ्रि बिजुली, फ्रि पानी’ तथा छोरीको विवाहमा नगद सहयोगजस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि विवाद चुलिएको छ। नगर प्रमुख रिनाकुमारी साहले भुक्तानी रोकिएकोप्रति कडा आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेकी छन्।
वर्षौंदेखि सञ्चालनमा रहेका यी कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले “माथिको आदेश” भन्दै रोकेको आरोप मेयर साहले लगाएकी हुन्। उनले नगरबासीले पाउँदै आएको सेवा–सुविधा रोक्ने षड्यन्त्र भइरहेको भन्दै आश्चर्य व्यक्त गरिन्।
मेयर साहले भनिन्, “माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ। नगरबासीले पाउँदै आएको सेवा–सुविधा रोक्ने षड्यन्त्र कसले गरिरहेको छ, म आफैं अचम्ममा छु। संविधान र कानुनअनुसार स्थानीय सरकारले काम गर्न पाउनुपर्छ, कानुनविपरीत कुनै पनि हस्तक्षेप स्वीकार्य छैन।”
उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै स्थानीय सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेकी छन्। साथै, प्रमुख प्रशासकीय अधिकृतले बैठकको कार्यसूची आफैं तय गर्ने र निर्णय उपमेयरबाट प्रमाणीकरण गराउन खोज्ने कार्य कानुन र मूल्य–मान्यताको विपरीत रहेको आरोपसमेत लगाइन्।
मौलापुर नगरपालिका ‘फ्रि बिजुली, फ्रि पानी’जस्ता कार्यक्रमका कारण देशभर चर्चित रहँदै आएको छ। अन्य स्थानीय तहले समेत अनुकरण गरिरहेका यस्ता कार्यक्रमको भुक्तानी रोक्नु अनुचित भएको मेयर साहको भनाइ छ। उनले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरिन्।
उता, भुक्तानी रोकिएपछि स्थानीयबासीले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। समितिले वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन सुरु गरिसकेको छ।
यस्तै, वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने र जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।