वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा अवैध रूपमा सञ्चालन हुँदै आएका मनी एक्सचेन्ज काउन्टरहरूविरुद्ध प्रहरीले पुनः कडाइ गर्दै छापामारी अभियान तीव्र बनाएको छ । केही दिनअघि गरिएको कारबाहीपछि बन्द भएका काउन्टरहरू पुनः सञ्चालनमा आएपछि प्रहरीले फेरि कडाइ गरेको हो ।
आईपीएस हेमन्त सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले रेलवे ढाला नजिकै सञ्चालित एक मनी एक्सचेन्ज काउन्टरमा छापा मारेको हो । उक्त काउन्टर कोईरिया टोल निवासी सञ्जय माथूरले ‘मनीष एक्सचेन्ज’ नामबाट सञ्चालन गर्दै आएका थिए । छापामारीमा सीमा सुरक्षा बल (एसएसबी) को टोलीले समेत सहयोग गरेको थियो ।
छापामारीका क्रममा काउन्टरबाट ठूलो परिमाणमा नेपाली तथा भारतीय मुद्रा बरामद गरिएको छ । प्रारम्भिक विवरणअनुसार ५ लाख ८ हजार ७१८ नेपाली रुपैयाँ र २ लाख ६३ हजार भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद रकमको कुनै वैध अभिलेख नभेटिएको र काउन्टर बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ ।
प्रहरीले काउन्टर सञ्चालक सञ्जय माथूरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार यसअघि बन्द गरिएको काउन्टर पुनः सञ्चालनमा आएको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र यससँग जोडिएको सम्पूर्ण नेटवर्कको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गत २२ अप्रिलमा पनि सोही क्षेत्रमा गरिएको छपामारीमा करिब ४७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको थियो । त्यसपछि केही समय काउन्टरहरू बन्द भए पनि पुनः सक्रिय हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।
अवैध मनी एक्सचेन्ज काउन्टरहरूमा ठगी, हुन्डी तथा हवाला कारोबार हुने गरेको आरोप लाग्दै आएको छ । साथै पर्यटकहरूसँग मनपरी कमिसन असुल्ने गुनासोसमेत बढ्दै गएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निरन्तर कारबाही अघि बढाएको जनाएको छ ।