वीरगञ्ज । वीरगञ्जको अलखिया मठ अगाडि सशस्त्र प्रहरी र तस्करीमा संलग्न महिलाबिच भएको विवाद सामान्य झडपमा परिणत हुँदा २ जना सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।
सशस्त्र प्रहरीले चेकजाँचका क्रममा महिलाहरूबाट सामान नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा भएको झडपका क्रममा प्रहरीका दुई जवान सामान्य घाइते भएको जनाइएको छ ।
घटनापछि सशस्त्र प्रहरीले महिलाहरूबाट एक पोका सेन्डो गन्जी नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । झडपमा संलग्न महिलाहरूलाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करीका गतिविधि बढ्दै गएको भन्दै सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।