×

एआइको सहयोगबाट तयार पारिएको तस्बिर ।

वीरगञ्ज । आर्थिक सङ्कट र जग्गा विवादको कारण आफ्नै ६८ वर्षीय बाबुको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार, २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) मा भएको हत्याकाण्डमा संलग्न रहेका मृतक विशेष महतो कोईरीका कान्छा छोरा राम बिलास महतो पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार राम बिलासले ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले योजनाबद्ध रूपमा आफ्ना बाबुको हत्या गरेका थिए । घटनाको दिन बाबु सुतिरहेको अवस्थामा उनले हातखुट्टा बाँधेर धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेपछि ऋण तिर्नु नपर्ने र अन्य निर्दोष व्यक्तिलाई ज्यान मुद्दामा फसाउने नियतले पनि उनले कुकृत्य गरेको प्रहरीको दाबी छ । घटना भएको केही दिनमै परिवारसहित फरार भएका राम बिलासलाई प्रहरीले गत वैशाख १६ गते चितवनबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णु प्रदीप बस्यालले जानकारी दिँदै भने, “अहिले आरोपीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।”

घटनाले समाजमा पारिवारिक सम्बन्ध र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ । साथै, लामो समयपछि भए पनि आरोपी पक्राउ पर्नुले न्याय प्रक्रियाप्रति जनताको विश्वास बढेको देखिन्छ ।

प्रहरीले पुरानो रहस्यमय हत्याकाण्डलाई सार्वजनिक गर्दै थप प्रमाण सङ्कलन र अनुसन्धानलाई तीव्रता दिएको छ ।

Back to top