×

क्यालिफोर्निया । विश्वप्रसिद्ध अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सले मदिरा पिएर सवारी चलाएको अभियोगमा जेल सजाय भोग्नु नपर्ने भएको छ।

४४ वर्षीया गायिकाका वकिलले सोमबार अदालतमा उपस्थित भई कम गम्भीर प्रकृतिको कसुर अर्थात् ‘लापरबाहीपूर्ण सवारी चालन’ मा दोषी स्वीकार गरेपछि उनलाई यो राहत मिलेको हो। यो सुनुवाइका लागि स्पेयर्स आफैँ अदालत उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था थिएन।

गत मार्च ४ मा क्यालिफोर्नियाको एक राजमार्गमा आफ्नो बीएमडब्लू कार उच्च गतिमा र अनियन्त्रित तवरले चलाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। सो घटनापछि स्पेयर्सले आफैँलाई एक पुनर्स्थापना केन्द्रमा भर्ना गरेकी थिइन्।

उनका प्रतिनिधिहरूले सो घटनालाई ‘पूर्ण रूपमा अक्षम्य’ भन्दै टिप्पणी गरेका थिए। स्पेयर्सका वकिल माइकल गोल्डस्टिनले एक विज्ञप्ति जारी गर्दै ब्रिट्नीले आफ्नो व्यवहारको जिम्मेवारी लिएको र उनले आफूमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण कदमहरू चालेको बताएका छन्।

सरकारी वकिलको कार्यालयका अनुसार स्पेयर्सको कुनै पुरानो आपराधिक रेकर्ड नभएको, सवारी दुर्घटना वा कसैलाई चोटपटक नलागेको र रगतमा मदिराको मात्रा पनि न्यून देखिएकाले उनलाई कम गम्भीर अभियोग लगाइएको हो।

गोल्डस्टिनका अनुसार स्पेयर्स अब १२ महिनासम्म प्रोबेसनमा रहनुपर्नेछ भने उनले मदिरा पिएर सवारी चलाउनेहरूका लागि सञ्चालन गरिने विशेष कक्षा लिनुका साथै जरिवाना र शुल्कहरू पनि तिर्नुपर्नेछ।

पप संगीतको क्षेत्रमा विश्वव्यापी चर्चा कमाएकी स्पेयर्सले सानै उमेरबाट ख्याति प्राप्त गरेकी थिइन्। उनका ‘बेबी वान मोर टाइम’, ‘टक्सिक’ र ‘वुमनाइजर’ जस्ता गीतहरूले विश्वभरका चार्टहरूमा कब्जा जमाएका थिए।

यसअघि उनी आफ्ना बुबाको संरक्षकत्वमा १३ वर्षसम्म रहेकी थिइन्, जहाँ उनको व्यक्तिगत र आर्थिक जीवन पूर्ण रूपमा नियन्त्रणमा थियो। सन् २०२१ मा मात्रै उनले कानुनी लडाइँ जितेर सो नियन्त्रणबाट मुक्ति पाएकी थिइन्।

Back to top