वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् ।
सरकारले पुनः सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले मङ्गलवार उक्त अध्यादेश स्वीकृत गरेको हो । यसअघि आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए । तर सरकारले हुबहु पुरानै स्वरूपमा फेरि सिफारिस गरेपछि राष्ट्रपतिले जारी गर्न बाध्य भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दोहोर्याएर आएको अध्यादेश फिर्ता गर्ने संवैधानिक व्यवस्था नभएकाले राष्ट्रपतिले यसलाई स्वीकृत गरेको बताइएको छ । यस प्रक्रियाले राष्ट्रपति पौडेललाई केही नैतिक सङ्कटमा पारेको समेत चर्चा छ ।
सरकारले राष्ट्रपतिसमक्ष पठाएका कुल ८ वटा अध्यादेशमध्ये ७ वटा यसअघि नै जारी भइसकेका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्र पुनर्विचारका लागि फिर्ता पठाइएको थियो ।
अध्यादेश जारी भएसँगै संवैधानिक परिषद्को गठन र कार्य प्रणाली सम्बन्धी व्यवस्थामा संशोधन हुनेछ ।