×

वीरगञ्ज । गुलसन झाको पाँच विकेट प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमानलाई हराउँदै त्रिकोणात्मक शृङ्खलामा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरमा भएको शृङ्खलाको अन्तिम खेलमा मङ्गलवार गुलसन चम्कँदा नेपाली टोलीले पाहुना टोली ओमानमाथि ८१ रनको जित निकाल्दै त्रिकोणात्मक शृङ्खलामा सुखद अन्त्य गर्‍यो ।

संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलामा नेपालको यो तेस्रो जित हो । नेपालले टोलीले एक मात्र हार ओमानसँग व्यहोरेको थियो । तर शृङ्खलाको दोस्रो भेटमा भने नेपालले ओमानलाई सहजै हरायो । लिग–२ को साइकलमा पहिलोपल्ट नेपालले अङ्कतालिकाको तेस्रो स्थानमा रहेको ओमानलाई हराएको हो । सातौँ स्थानमा रहेको नेपालले २४ खेलबाट १८ अङ्क जोड्यो ।

पाँचौँ स्थानको नामिबियाभन्दा चार अङ्क र छैटौँ स्थानको क्यानडाभन्दा तीन अङ्कले कम छ । यद्यपि, नामिबियाले २८ खेल र क्यानडाले २४ खेल खेलेको छ । शृङ्खलामा राम्रो नतिजापछि लिग–२ को शीर्ष चारभित्र अटाउन नेपाललाई आत्मबल प्रदान गरेको छ । टियु क्रिकेट मैदान नेपालले २५७ रनको मध्यम लक्ष्य दिएको थियो । तर बलिङमा राम्रो साथ पाएपछि नेपाली टोलीले त्यो लक्ष्य रक्षा गर्‍यो ।

ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयो । ओमानका मध्य क्रमका ब्याटर विनायक शुक्लाले ५१ बलमा ३६ रन बनाए । यो नै पाहुना टोलीका लागि सर्वाधिक व्यक्तिगत रन रह्यो । सातौँ ओभरमा ओपनर तथा कप्तान जतिन्दर सिंहलाई १२ रनमा आउट गदै नेपालले पहिलो सफलता पाएको हो । नन्दन यादवको यो विकेट दिलाएसँगै नेपालको बलिङले बलियो आत्मबल बटुल्यो ।

नेपालसँगको अघिल्लो खेलमा उनले शतक प्रहार गरेका थिए । यो विकेटपछि हसनैन उल वाहब र हमिद मिर्जाले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे । तर यी दुई आउट भएपछि ओमान दबाबमा पर्‍यो । यस शृङ्खलामा लयमा रहेका मध्य क्रमका ब्याटर जितेन रामानन्दी पनि चल्न सकेनन् । उनलाई पनि गुलसले नै पभेलियन फर्किएका हुन् ।

उल वाहब २९, मिर्जा ३४ र वासिम अली १० रनमा आउट भए । ओमानलाई सस्तैमा समेट्न नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए । उनले ९ ओभरमा ३८ रन खर्चिए । करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो ।

सन्दीपले ८.५ ओभरमा दुई मेडन राख्दै ३० रन मात्र दिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको सुरुआत राम्रो हुन सकेन । खराब सुरुआत पाएको नेपाल ४९.५ ओभरमा दुई सय ५६ रनमा अलआउट भयो । घरेलु टोलीले खाता नखोल्दै विकेट गुमाएपछि खराब सुरुआत पायो । ओपनर विनोद भण्डारी शून्यमा नै पभेलियन फर्किएका हुन् । यद्यपि, ओपनर आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि १२३ रनको सतकीय साझेदारी गर्दै इनिङ समाले । अघिल्लो खेलमा डेब्यु गरेका अर्जुन करियरको पहिलो अर्धशतक बनाउन चुके । यता आसिफ पनि शतकबाट ६ रनबाट चुक्न पुगे । यद्यपि, यी दुईको साझेदारीले नेपालको राम्रो योगफल बन्ने सम्भावना बनेको थियो ।

२८औँ ओभरमा अर्जुन ४८ रनमा आउट भएका हुन् । स्पिनर हसनैन शाहले अर्जुनलाई विकेटकिपर विनायक शुक्लाबाट क्याच गराउँदै ठूलो सफलता दिलाए । अर्जुनले ८७ बलमा चार चौका प्रहार गरे । समालिएर खेलेको घरेलु टोलीले सुस्त ब्याटिङ गर्‍यो । त्यसपछि आएका कप्तान रोहितकुमार पौडेल ९ रनमै आउट भए ।

आसिफ ९७ बलमा ९४ रनमा आउट हुन पुगे । ३४.३औँ ओभरमा छक्का प्रहार गरेर शतक पूरा गर्ने चक्करमा आसिफ बाउन्ड्री लाइनमा क्याच भएका हुन् । उनी करियरको दोस्रो एकदिवसीय शतक बनाउन असफल भए । आसिफको यो एकदिवसीय करियरमा १४औँ अर्धशतक हो ।

उनको इनिङमा सात चौका र पाँच छक्का प्रहार गरे । आसिफ आउट हुँदा नेपाल ३४.३ ओभरमा १६३/४ को अवस्थामा थियो । पाँचौँ विकेटका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीबीच ३२ रनको साझेदारी भयो । गुलसन १७ रनमा र दीपेन्द्रसिंह ३३ रनमा पभेलियन फर्किए । यी दुई पाँचौँ र छैटौँ विकेटका रूपमा आउट भएका हुन् । एक समय नेपाल कमजोर योगफलमा नै सीमित हुने देखिएको थियो । तर, मध्य क्रमका ब्याटर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका हुन् । उनले २४ बलमा ४३ रन बनाए । डेथ ओभरमा तेस्रो, चौथो र पाँचौँ ओभरमा उनले लगातार छक्का प्रहार गरे ।

उनको इनिङमा चार छक्का र एक चौका रह्यो । ओमानको बलिङमा नदिम खानले तीन, शकिल अहमदले दुई तथा जितेन रामानन्दी, हसनैन अली शाह र आर्यन बिष्टले समान एक विकेट लिए । नेपालले आगामी मे १२ तारिखदेखि आइसिसी विश्वकप लिग–२ को अर्को त्रिकोणात्मक शृङ्खला खेल्नेछ । उक्त शृङ्खलामा स्कटल्यान्ड र अमेरिकासँग नेपाली टोलीले खेल्नेछ ।

Back to top