मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुरका पिता एवं दिग्गज अभिनेता शक्ति कपुर आफ्नो मृत्युको झूटो खबरलाई लिएर निकै आक्रोशित बनेका छन्। विगत केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधन भएको भन्दै अफवाह फैलिरहेको थियो, जसले गर्दा अभिनेता मानसिक रूपमा निकै तनावमा परेका थिए।
यस्ता गलत समाचारले सीमा नाघेको महसुस गर्दै शक्ति कपुरले आफैँ सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी ती खबरहरूको खण्डन गरेका छन्। उनले आफू पूर्ण रूपमा स्वस्थ रहेको स्पष्ट पार्दै यस्तो हर्कत गर्नेहरूविरुद्ध उजुरी दर्ता गर्ने चेतावनी समेत दिएका छन्।
शक्ति कपुरले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेका छन्, जसमा उनी निकै फिट देखिएका छन्। भिडियोमार्फत आफ्ना प्रशंसकहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘सबैलाई नमस्कार, मेरो मृत्युको अफवाह पूर्ण रूपमा झूटो हो। म स्वस्थ र खुसी छु। कृपया यस्ता कुरालाई बेवास्ता गरिदिनुहोला। म यसविरुद्ध उजुरी गर्न गइरहेको छु, यो पटक्कै राम्रो काम होइन।’
उनले यस किसिमका झूटो खबर फैलाउनु गलत भएको र यसले परिवार तथा शुभचिन्तकहरूलाई अनावश्यक मानसिक तनाव दिने भन्दै गम्भीर आपत्ति जनाएका छन्।
शक्ति कपुरको स्वास्थ्यका बारेमा यस्ता अड्कलबाजीहरू यसै वर्षको सुरुवातदेखि सुरु भएका थिए। उनलाई छोरी श्रद्धा कपुरका साथमा एक अस्पताल बाहिर देखिएपछि विभिन्न चर्चा चल्न थालेको थियो। त्यतिबेला श्रद्धा त्यहाँ उपस्थित फोटोग्राफरहरूमाथि निकै आक्रोशित भएकी थिइन्।
श्रद्धाको रिस देखेर सामाजिक सञ्जालमा शक्ति कपुरको स्वास्थ्य अवस्था निकै नाजुक भएको हुन सक्ने भन्दै अनुमानहरू लगाइएको थियो, जसले पछि मृत्युको अफवाहको रूप लिएको हो। कामको कुरा गर्दा शक्ति कपुर पछिल्लो पटक फिल्म ‘मेरे हजबन्डकी बीवी’ मा देखिएका थिए। यस फिल्ममा अर्जुन कपुर, भूमि पेडनेकर र रकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका थिए।
ठुला कलाकारहरू भए तापनि यो फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो। शक्ति कपुर लामो समयदेखि चर्चा र सामाजिक सञ्जालबाट केही टाढा रहँदै आएका थिए।