वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वाका मुकेश महतो तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै भोजपुरी लोककलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन निरन्तर लागिपरेका छन्। चित्रकला र मूर्तिकलामार्फत सामाजिक यथार्थलाई क्यानभासमा उतार्दै आएका महतो पछिल्लो ६ वर्षयता विशेष रूपमा चित्रकला र मूर्तिकलामा केन्द्रित भएर काम गरिरहेका छन्।
मोफसलमै बसेर पनि कलाकारिताबाट सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका महतोले अर्डरअनुसार दुई हजारदेखि ३५ हजार रुपैयाँसम्मका चित्र बिक्री गर्दै आएका छन्। उनले वीरगञ्जका दुई विद्यालयमा आर्ट शिक्षकका रूपमा कार्यरत रहँदै बालबालिकामा चित्रकलाप्रति रुचि बढाउने काम पनि गरिरहेका छन्। साथै, चित्रकला कार्यशाला, गोष्ठी तथा स्थानीय लोककलासम्बन्धी अनुसन्धानमा समेत उनी सक्रिय छन्।
चाडपर्वको समयमा भित्तेचित्र, पार्क सजावट तथा विभिन्न व्यावसायिक कलाका कामले उनलाई अझ व्यस्त बनाउने गरेको छ। उनले हालसम्म पाँच देशमा आयोजित सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन्। भोजपुरी समुदायको लोककला संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल सरकारको पर्यटन मन्त्रालयले उनलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार’ बाट सम्मानित गरिसकेको छ।
वीरगञ्ज कलाकार समाज स्थापना गरी स्थानीय युवालाई कलाकारिता र लोकसंस्कृतिसँग जोड्न सक्रिय रहेका महतो भोजपुरी प्रतिष्ठानको कार्यसमिति सदस्यका रूपमा पनि लोककलाको दस्ताबेजीकरणमा संलग्न छन्। आगामी जेठ २ गतेदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा भारतको उडिसामा हुने कार्यक्रममा पनि उनको सहभागिता रहनेछ।
महतोका चित्रहरूमा सामाजिक चेतनाको गहिरो प्रभाव देखिन्छ। दाइजो प्रथा, बालविवाह, चेलीबेटी बेचबिखन, बालश्रम तथा प्रदूषणजस्ता विषयलाई उनले आफ्नो चित्रमार्फत सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन्। केही वर्षअघि वीरगञ्जमा आयोजित कला महोत्सवमा उनले बनाएको दाइजो र बालविवाहविरुद्धको प्रतीकात्मक चित्रले विशेष चर्चा पाएको थियो।
बाल्यकालमै घरछेउका चित्रकार बाबुलाल पेन्टरबाट प्रेरित भएका महतोले पछि भारतमा ललितकला अध्ययन गरेका थिए। मूर्तिकलामा पनि दख्खल राख्ने उनले कलकत्ताका मूर्तिकार विनयपालसँग आठ वर्षसम्म प्रशिक्षण लिएका थिए। अहिले उनले निर्माण गरेका सरस्वती, गणेश, दुर्गा र विश्वकर्माका मूर्तिहरू वीरगञ्जका विभिन्न स्थानमा स्थापित छन्। मूर्ति निर्माणमार्फत उनले केही युवालाई रोजगारीसमेत प्रदान गरेका छन्।
रहरका रूपमा सुरु भएको कलाकारिताको यात्राले आज उनलाई पहिचान, सम्मान र आम्दानी तीनै कुरा दिलाएको छ। समाजका यथार्थलाई कलामार्फत उजागर गर्नु कलाकारको धर्म भएको बताउने महतो भविष्यमा पनि लोककला र सामाजिक चेतनालाई चित्रमार्फत अघि बढाउने योजनामा छन्।