वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरी र जलेश्वर भन्सार कार्यालयबीच तनाव उत्पन्न भएको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको तीन पिकअप चाइनिज स्याउ भन्सारले मुद्दा नै नचलाई व्यापारीलाई फिर्ता गरेपछि विवाद चर्किएको हो।
सशस्त्र प्रहरीले महोत्तरीको मनरासिसवा नगरपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) मा गाडी नम्बर उल्लेख नगरी ३ सय ४५ कार्टुनमा रहेको ६ हजार ९ किलो चाइनिज स्याउसहितका ती गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको थियो।
सशस्त्र प्रहरीले बरामद गरिएको स्याउको अनुमानित मूल्य ४१ लाख ७० हजार ५ सय रुपैयाँ तथा गाडीको मूल्य करिब ५१ लाख रुपैयाँ रहेको जनाएको थियो। भन्सार कार्यालयले गत वैशाख २१ गते उक्त स्याउ लिलाम प्रक्रिया अगाडि बढाइएको सूचना समेत सार्वजनिक गरेको थियो। तर केही घण्टामै अनुसन्धान तथा मुद्दा प्रक्रिया नै अगाडि नबढाई सामान सम्बन्धित व्यापारीलाई फिर्ता गरिएको स्रोतले जनाएको छ।
घटनापछि तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका जलेश्वर भन्सार र सशस्त्र प्रहरीबीच आन्तरिक टकराव बढेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी महोत्तरीका नेता सन्तोष साहले घटनालाई गम्भीर आर्थिक चलखेलको संकेत भएको बताएका छन्। “यति ठूलो परिमाणको सामान अनुसन्धान नै नगरी फिर्ता गर्नु शंकास्पद छ,” उनले भने, “फरार भनिएका चालकहरूको बयानलाई आधार बनाएर सामान छोडिएको देखिन्छ।”
उनका अनुसार सीमावर्ती क्षेत्रमा वर्षौंदेखि तस्करी संस्थागत रूपमा चलिरहेको छ र यसमा केही कर्मचारी, बिचौलिया तथा तस्कर समूहबीच मिलेमतो हुने गरेको आरोप छ।
यता जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले भने भन्सार ऐन २०८२ को दफा ५० को उपदफा २ अनुसार मुद्दा चलाउने पर्याप्त आधार नपुगेकाले सामान र सवारीसाधन धनीलाई फिर्ता गरिएको दाबी गरे। प्रारम्भिक अनुसन्धान, कागजात र बयान अध्ययनपछि सामान विनाकारण नियन्त्रणमा लिइएको निष्कर्षमा पुगेको उनको भनाइ छ।
प्रहरीका अनुसार भीसीटीएस नम्बर उल्लेख नगरी स्याउसहितका गाडी भित्र्याइएको थियो। बरामद गरिएको स्याउ बर्दिवासस्थित बजरंग ट्रेडिङ कम्पनी प्रालिले माँ जानकी ट्रेडर्स, मनरा सिसवाका नाममा बिल गरेको खुलेको छ। प्रहरीले भीसीटीएस प्रणाली प्रयोग नगरी सामान आयात गर्दा कम मूल्यांकन तथा राजस्व छली हुने गरेको जनाएको छ।
भीसीटीएस प्रणालीमार्फत सामानको ढुवानी, परिमाण, गन्तव्य तथा विवरण अनलाइनमार्फत ट्र्याकिङ गरिन्छ। राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०७६ साउन १ गतेदेखि यो प्रणाली अनिवार्य गरिएको हो।
तर भन्सार कार्यालयका सूचना अधिकारी अधिकारीले भीसीटीएस सम्बन्धी विषय राजस्व अनुसन्धानसँग सम्बन्धित भएकाले भन्सारले प्रत्यक्ष रूपमा नहेर्ने दाबी गरेका छन्।
प्रहरीले स्याउ नियन्त्रणमा लिइएको स्थान आसपास कुनै थोक पसल वा गोदाम नरहेको उल्लेख गर्दै उक्त सामान व्यवस्थित व्यापारभन्दा तस्करी प्रयोजनकै लागि ओसारपसार भइरहेको आशंका थप बलियो भएको जनाएको छ।
भन्सार स्रोतका अनुसार चालु आर्थिक वर्षमा तस्करीको आशंकामा नियन्त्रणमा आएको यति ठूलो परिमाणको सामान र सवारीसाधन पहिलो पटक सहजै फिर्ता गरिएको हो। यसअघि यस्ता घटनामा सामान जफत गर्ने, राजस्व असुल गर्ने वा मुद्दा दर्ता गर्ने अभ्यास रहेको थियो। यसपटक भने सामान र सवारीसाधन दुवै फिर्ता भएपछि प्रशासनिक निष्पक्षता र भन्सार–तस्करबीच सम्भावित ‘सेटिङ’बारे गम्भीर प्रश्न उठेको छ।