×

बलिउडमा कलाकारहरूको पारिश्रमिक र बढ्दो निर्माण लागतलाई लिएर लामो समयदेखि बहस जारी छ। यसैबिच अभिनेत्री तथा निर्माता कृति सेननले फिल्म उद्योगमा व्याप्त लैङ्गिक पारिश्रमिक विभेद र पितृसत्तात्मक सोचबारे मुख खोलेकी छन् ।

फिल्मको बजेट कम हुँदा सबैभन्दा पहिले अभिनेत्रीको पारिश्रमिक घटाइने तर पुरुष कलाकारको पारिश्रमिकमा खासै असर नपर्ने उनको दाबी छ। ‘जीक्यू इन्डिया’ सँगको कुराकानीमा कृतिले बलिउडमा अझै पनि पितृसत्ताको जरो गाडिएको बताइन्। उनका अनुसार महिला केन्द्रित फिल्मलाई लिएर निर्माताहरू अहिले पनि जोखिम मोल्न डराउँछन् ।

यस्ता फिल्मले पुरुष प्रधान फिल्म जस्तो व्यापार गर्न नसक्ने सोचका कारण लगानीकर्ताहरू हच्किने गरेको उनले उल्लेख गरिन्। दुवै कलाकारले उत्तिकै मेहनत गर्दा पारिश्रमिकमा किन यति ठुलो भिन्नता हुन्छ भन्दै उनले प्रश्न उठाएकी छन्।

अक्सर फिल्मको बजेट नियन्त्रण गर्ने बहानामा अभिनेत्रीहरूलाई मात्र पारिश्रमिक घटाउन दबाब दिइन्छ। अर्कोतर्फ ठुला पुरुष स्टारहरूको महँगो पारिश्रमिक र उनीहरूका मागमा भने कमै प्रश्न उठ्ने गर्छ। यसअघि पनि धेरै फिल्मकर्मीहरूले कलाकारहरूको सहयोगीहरूको खर्च र विलासिताका कारण निर्माण लागत अनावश्यक रूपमा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कृतिले यसअघि पनि कलाकारसँग हिँड्ने सहयोगीहरू र अनावश्यक कुरामा धेरै खर्च हुने गरेको बताएकी थिइन्। फिल्मको ध्यान कथामा हुनुपर्नेमा विलासिताका खर्चहरू निर्माताको टाउकोमा थुपारिने गरेको उनको तर्क छ । ठट्टा गर्दै उनले एक जना स्टारका लागि दुई जना खाना पकाउने मानिस र एक जना सेफ राख्नु आवश्यकताभन्दा बढी भएको टिप्पणी गरिन्। 

अहिले आफैँ निर्माता बनेपछि कृतिले उद्योगको आर्थिक दबाबलाई नजिकबाट बुझ्न थालेकी छन्। उनी स्टार सिस्टमलाई भन्दा विषयवस्तु र प्रतिभालाई प्राथमिकता दिने फिल्महरू बनाउन चाहन्छिन्। 

Back to top