×

वीरगञ्ज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने व्यवस्था संशोधन गरिने बताएका छन्।

सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य गरेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै उनले सीमा नाकामा बसोबास गर्ने नागरिकको सुविधालाई ध्यानमा राखेर उक्त सीमा बढाइने बताएका हुन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले उक्त व्यवस्था वर्तमान सरकारले लागू नगरेको स्पष्ट पारे।

‘यो हामी आएर बनाएको नियम होइन,’ उनले भने, ‘यो सीमा बढाउँछौं, तर राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीमा भने हामी निर्मम हुन्छौं।’

उनले घरायसी प्रयोजनका सामानको नाममा दैनिक १०–१२ पटक ओहोरदोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने पनि जानकारी दिए।

अर्थमन्त्री वाग्लेले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक नीतिगत सुधार गरिने उल्लेख गर्दै राजस्व संरक्षण र सर्वसाधारणको सुविधा बीच सन्तुलन कायम गरिने बताए।

Back to top