वीरगञ्ज । वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख किशोरी रायमाथि आज दुर्व्यवहार तथा हातपात भएको घटना सार्वजनिक भएपछि शिक्षा क्षेत्रमै गम्भीर चासो उत्पन्न भएको छ।
क्याम्पसमा भएको उक्त घटना केवल एक व्यक्तिमाथिको आक्रमण नभई शिक्षा क्षेत्रको मर्यादा र अनुशासनमाथिको प्रहार भएको सरोकारवालाहरूले बताएका छन्। शिक्षण पेशामा संलग्न व्यक्तिहरूले समाजलाई सही दिशा दिने भएकाले जिम्मेवारी, नैतिकता र सभ्य आचरण कायम राख्नुपर्ने आवश्यकता औंल्याइएको छ।
क्याम्पस प्रशासनका अनुसार सेवा अन्त्य गरिएका लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितसँग सम्बन्धित विवादपछि परिस्थिति तनावपूर्ण बनेको हो। सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पसमा ताला लगाएको बताइएको छ।
क्याम्पस प्रमुख किशोरी रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि नमानेपछि विवाद चर्किएको र सोही क्रममा उनीमाथि कालोमोसो दल्ने प्रयाससँगै हातपात भएको क्याम्पस सञ्चालक समितिले जनाएको छ।
“विरोध गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ, असहमति राख्न पाइन्छ, तर सभ्यता र कानुनी मर्यादाभित्र रहेर,” भन्दै क्याम्पस प्रशासनले शिक्षा केवल डिग्री नभई संस्कार पनि भएको उल्लेख गरेको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली क्याम्पस पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। क्याम्पस प्रमुख यादवले आफूमाथि भएको यो आक्रमण व्यक्तिगत मात्र नभई शैक्षिक संस्थाकै मानमर्दन भएको बताएका छन् ।
शिक्षक जस्तो मर्यादित पेशामा रहेका व्यक्तिहरूबाटै आफ्नै संस्थाको प्रमुखमाथि भएको यस प्रकारको दुर्व्यवहारले वीरगञ्जको शैक्षिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ। शिक्षाविद्हरूले माग राख्ने अधिकार सबैलाई भए पनि विरोधको शैली अराजक र अशोभनीय भएको भन्दै घटनाको भर्त्सना गरेका छन्। घटनापछि क्याम्पसको पठनपाठन र प्रशासनिक कार्यमा समेत असर परेको छ ।