पछिल्लो समय मोटोपना सबैभन्दा चिन्ताजनक स्वास्थ्य समस्या बनेको छ ।
मोटोपना धेरै रोगहरूको मूल कारण हो, यसले फ्याटी लिभर, मिर्गौला, मुटु र अन्य रोगहरू निम्त्याउँछ । यसले शरीरको सम्पूर्ण मेटाबोलिजम प्रक्रियालाई बाधा पुर्याउँछ । त्यसैले जुनसुकै हालतमा मोटोपना कम गर्नु महत्त्वपूर्ण छ ।
यद्यपि, तौल घटाउन धेरै कुराहरूको संयोजन मिल्नुपर्छ । पहिलो, तपाईंले आफ्नो आहार घटाउनु र व्यायाम बढाउनु आवश्यक छ । तर त्योभन्दा पनि जरुरी कुरा पेट सफा गर्नु हो । लौकाको रस पेटको लागि एक उत्कृष्ट उपाय मानिन्छ । आयुर्वेदमा यसलाई अमृत बराबर मानिन्छ ।
लौकाको जुसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । यसमा फाइबर पनि प्रशस्त हुन्छ । पेटको बोसो घटाउन फाइबर आदर्श हुन्छ ।
लौकाको जुसले मेटाबोलिज्म बढाउन र शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ । तर यसको मात्रा र खाने समयबारे सचेत हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ, अन्यथा यसले फाइदाको सट्टा हानि पुर्याउन सक्छ ।
लौकामा प्रशस्त पानी, फाइबर, आइरन र विभिन्न भिटामिनहरू हुन्छन् । यसले शरीरमा डिहाइड्रेसन हुनबाट रोक्छ । गर्मीमा लौकाको जुस पिउनाले शरीरलाई शीतल राख्छ, गर्मी कम गर्छ र थकान कम गर्छ । तौल घटाउन खोज्नेहरूका लागि लौकाको जुस धेरै लाभदायक मानिन्छ । यसमा क्यालोरी थोरै हुन्छ अनि फाइबर धेरै हुन्छ, जसले लामो समयसम्म भोक मेटाउन मद्दत गर्छ । यसले बारम्बार खाइरहनु पर्ने बानी कम गर्छ र क्रमिक तौल घटाउने सम्भावना बढाउँछ ।
१०० ग्राम लौकामा १२–१५ ग्राम मात्र क्यालोरी हुन्छ । बिहान खाली पेटमा एक गिलास लौकाको जुस पिउँदा दिनभरि पेट भरिएको महसुस गराउँछ र अतिरिक्त क्यालोरीहरू खपत हुनबाट रोक्छ । यसमा पाइने घुलनशील फाइबरले पाचन प्रणालीलाई सुधार गर्छ र भोक नियन्त्रण गर्न मद्दत गर्छ । लौकाको जुसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ, मेटाबोलिजम सुधार गर्छ र बोसो जलाउने क्रम तीव्र बनाउँछ । यसले इलेक्ट्रोलाइट सन्तुलन पनि कायम राख्छ, जसले गर्दा तौल घट्दा डिहाइड्रेसन हुनबाट रोक्छ ।
तर लौकाको जुस सन्तुलित मात्रामा मात्रै सेवन गर्नुपर्छ । स्वस्थ वयस्कको लागि, प्रति दिन १५० देखि २०० मिली (१ सानो गिलास) लौकाको जुस पर्याप्त हुन्छ ।
बिहान खाली पेटमा यसलाई सेवन गर्नु सबैभन्दा प्रभावकारी मानिन्छ । जुस पिएपछि आधा घण्टासम्म केही खानुहुन्न । जुस निकाल्नुअघि लौकाको सानो टुक्रा काटेर चाख्नुस् । लौका तितो छ भने यसको जुस निकालेर पिउने काम फिटिक्कै नगर्नुस् । तितो लौकामा कुकुरबिटासिन नामक विषाक्त पदार्थ हुन्छ, जुन घातक हुन सक्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्छ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)