×

रक्सी आधुनिक जीवनशैलीको एउटा सामान्य हिस्सा नै बनिसकेको छ । साथीभाइसँग भेट हुँदा बियर वा वाइन खाने, दिनभरको थकानपछि ककटेल, पार्टीमा ‘चियर्स’ गर्दै गिलास ठोक्काउने संस्कृति संसारभर सामान्य बनेको छ । धेरै मानिसका लागि रक्सी सामाजिक सम्बन्ध, मनोरञ्जन वा तनाव कम गर्ने माध्यम हो । तर रक्सीले शरीरमा पु‍र्‍याउने असर अत्यन्त गम्भीर हुन सक्छ ।

विशेषज्ञहरूका अनुसार रक्सी स्वभावतः विषाक्त पदार्थ हो । अमेरिकाको डेनभरस्थित नेशनल जुइश हेल्थमा हृदय रोग विशेषज्ञ डा. एन्ड्रियू फ्रिम्यान भन्छन्, 'हामी रक्सीलाई कीटाणु मार्न प्रयोग गर्छाैं । जीवाणु नष्ट गर्न प्रयोग हुने वस्तु शरीरका लागि पूर्ण सुरक्षित कसरी हुन सक्छ ?' उनका अनुसार अहिलेका धेरै अध्ययनहरूले थोरै मात्रामा रक्सी सुरक्षित हुन्छ भन्ने पुरानो धारणालाई चुनौती दिएका छन् ।

रक्सी प्रत्यक्ष रूपमा कम्तीमा ६२ प्रकारका रोगसँग सम्बन्धित रहेको अनुसन्धानले देखाएको छ । यसमा मुटुसम्बन्धी रोग, मानसिक विकार, ग्यास्ट्राइटिस, पेटको अल्सर, प्यान्क्रियाटाइटिस, फ्याटी लिभर, सिरोसिस, गर्भावस्थामा हुने फेटल अल्कोहल सिन्ड्रोम (गर्भावस्थामा आमाले रक्सी सेवन गर्दा शिशुमा हुने गम्भीर शारीरिक र मानसिक विकाससम्बन्धी समस्या) लगायत रोग समावेश छन् । टोरन्टोस्थित इन्स्टिच्युट फर मेन्टल हेल्थ पोलिसी रिसर्चका वरिष्ठ वैज्ञानिक जुर्गेन रेह्मका अनुसार यी रोगहरू शतप्रतिशत रक्सीजन्य हुन् । अर्थात् रक्सी नभएको भए यस्ता रोगहरू  अस्तित्वमै आउने थिएनन् ।

रक्सीले अन्य करिब ३० अन्य रोग निम्त्याउन पनि योगदान पु‍र्‍याउने उनी भन्छन् । स्तन क्यान्सर, मुटुरोग, स्ट्रोक, मधुमेह, डिमेन्सिया लगायतका रोगहरूमा रक्सीले जोखिम बढाउने भूमिका खेल्छ । वैज्ञानिकहरूका अनुसार रक्सीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । एउटा पेय पदार्थ सेवन गरेपछि केवल २० मिनेटभित्रै शरीरको रोगसँग लड्ने क्षमता घट्न थाल्छ । दीर्घकालीन रूपमा धेरै रक्सी सेवन गर्दा प्रतिरक्षा प्रणालीका महत्त्वपूर्ण कोषहरू स्थायी रूपमा प्रभावित हुन सक्छन् ।

विशेषज्ञहरूका अनुसार दैनिक अत्यधिक रक्सी सेवन गर्नेहरूमा स्वास्थ्य जोखिम सबैभन्दा बढी हुन्छ । तर अत्यधिक सेवनको परिभाषा धेरै मानिसले सोचेभन्दा फरक छ । अनुसन्धानले महिलाले दिनमा ४० ग्रामभन्दा बढी र पुरुषले ६० ग्रामभन्दा बढी शुद्ध अल्कोहल सेवन गरेमा त्यसलाई भारी मदिरापान मानेको छ । धेरै ककटेल वा अन्य पेय पदार्थमा मानिसले अनुमान गरेभन्दा धेरै अल्कोहल हुने भएकाले जोखिम अझ बढ्छ । यद्यपि, वैज्ञानिकहरूले एउटा सकारात्मक पक्ष पनि औँल्याएका छन्, यदि समयमै रक्सी सेवन बन्द गरियो भने शरीरमा भएको धेरै क्षति कम गर्न, रोक्न वा आंशिक रूपमा उल्ट्याउन सकिन्छ ।

संक्रमणसँग लड्ने क्षमता कमजोर हुन्छ

रक्सी र संक्रमणबिचको सम्बन्ध धेरै पुरानो भए पनि यसबारे व्यापक चर्चा पछिल्ला दशकहरूमा मात्र सुरु भएका हुन् । रक्सीले शरीरको जन्मजात प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने अनुसन्धानले देखाएको छ । यसले भाइरस, ब्याक्टेरिया र क्यान्सर कोषसँग लड्ने म्याक्रोफेज, न्युट्रोफिल र प्राकृतिक हत्यारा कोषलगायत सेतो रक्तकोषहरूको क्षमता घटाउँछ । एकैपटक धेरै रक्सी पिउनाले २४ घण्टासम्म प्रतिरक्षा प्रणालीलाई असर गर्न सक्छ । विशेषगरी ३० वर्ष माथिका महिलाहरू र ६५ वर्षभन्दा माथिका वृद्धहरूमा यस्तो प्रवृत्ति बढिरहेको अध्ययनले देखाएको छ ।

तर राम्रो पक्ष के हो भने तत्कालीन असर केही दिनदेखि एक साताभित्र कम हुन सक्छ । दीर्घकालीन रूपमा अत्यधिक सेवन नगरेमा शरीरले पुनः सुधार गर्ने क्षमता राख्छ । तर धेरै वर्षसम्म भारी मदिरापान गरेका व्यक्तिहरूमा केही क्षति स्थायी हुन सक्छ । रक्सी अमेरिकामा क्यान्सरको तेस्रो ठूलो रोक्न सकिने कारण मानिन्छ । पूर्वअमेरिकी सर्जन जनरल विवेक मूर्तिका अनुसार अमेरिकामा प्रत्येक वर्ष करिब १ लाख जनामा क्यान्सरको हुनु र २० हजार मृत्यु रक्सीसँग सम्बन्धित छन् ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार सबै प्रकारका रक्सीले डीएनएमा क्षति पु‍र्‍याएर अनि दीर्घकालीन इन्फ्लामेशन बढाएर क्यान्सरको जोखिम बढाउँछ। महिलामा स्तन क्यान्सर र पुरुषमा कोलोरेक्टल क्यान्सरसँग रक्सीको सम्बन्ध बढी देखिएको छ । विशेषज्ञहरूका अनुसार रक्सी सेवन बन्द गर्दा क्यान्सरको जोखिम कम हुन्छ । तर क्यान्सर बन्ने प्रक्रिया लामो भएकाले केही अवस्थामा रोगको सुरुवात भइसकेको हुन सक्छ । वैज्ञानिक सिन्क्लेयर कारका अनुसार शरीरमा क्यान्सरको प्रक्रिया सुरु भइसकेको छैन भने रक्सी छोड्दा भविष्यमा हुने रक्सीसँग सम्बन्धित क्यान्सरको जोखिम हटाउन सकिन्छ । रेह्मका अनुसार भारी मदिरापानको प्रभाव पूर्ण रूपमा कम हुन करिब ३० वर्ष लाग्न सक्छ । उनले भनेका छन्, 'एक गिलास रक्सीलाई एउटा चुरोट बराबर सोच्न सकिन्छ ।' 

मस्तिष्कमा असर

कुनै समय 'रक्सीले मस्तिष्कका कोष मार्छ' भन्ने भनाइ प्रचलित थियो । अहिले विज्ञानले रक्सीले न्यूरोनबिचको सम्बन्ध बिगार्ने देखाएको छ । यसले मस्तिष्क सुकाउने प्रक्रिया बढाउँछ । यसले स्मरणशक्ति र निर्णय क्षमता प्रभावित गर्छ । अनुसन्धान अनुसार हप्तामा तीन पटक रक्सी पिउँदा डिमेन्सियाको जोखिम १५ प्रतिशतले बढ्न सक्छ । तर रक्सी छोडेपछि केही सुधार भने सम्भव छ । मस्तिष्कको आकार र कार्यक्षमतामा केही हप्तादेखि महिनाभित्र सुधार देखिन सक्छ । ध्यान, सम्झना र निर्णय क्षमतामा पनि सुधार आउन सक्छ । यद्यपि लामो समयसम्म भारी मदिरापान गर्नेहरूमा डिमेन्सियाको जोखिम पूर्ण रूपमा हट्दैन ।

मुटु र रक्सी

धेरै वर्षदेखि थोरै रक्सी मुटुका लागि राम्रो हुन्छ भन्ने धारणा रहँदै आएको छ । केही अध्ययनले कम मात्रामा रक्सी सेवनले मुटुमा सकारात्मक असर देखाए पनि नयाँ अनुसन्धानहरूले जोखिम धेरै भएको संकेत गरेका छन् । २०२३ को एक अध्ययनले दिनमा एउटा मात्रै रक्सीजन्य पेय पिउँदा पनि रक्तचाप बढाउन सक्ने देखाएको थियो । यदि कसैलाई पहिले नै उच्च रक्तचाप, मधुमेह वा पेटमा बोसोको समस्या छ भने रक्सीले कलेजो र मुटुको जोखिम अझ बढाउँछ । डा. एन्ड्रिूयू फ्रिम्यानकाअनुसार अहिलेको प्रमाण हेर्दा रक्सीको फाइदाभन्दा हानिकारक प्रभाव बढी देखिन्छ । त्यसैले धेरै स्वास्थ्य संस्थाहरूले रक्सी सुरु नगर्नु, सेवन गरे पनि कम गर्नु वा पूर्ण रूपमा छोड्नु भन्ने सल्लाह दिन थालेका छन् । 

Back to top