वीरगञ्ज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा–सुविधा तथा ग्राहक सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब बैङ्कहरूले आफ्ना कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काम गर्न बाध्य पार्न पाउने छैनन् ।
विशेष परिस्थितिमा अतिरिक्त समय काम गराउनुपरेमा प्रचलित श्रम कानुन तथा सम्बन्धित व्यवस्थाबमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ । “कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ,” निर्देशनमा उल्लेख छ ।
यससँगै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानुन तथा राष्ट्र बैंकको निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ बमोजिम हुने गरी मात्र काममा लगाउनुपर्नेछ । पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो कार्य चापबिच राष्ट्र बैंकको कदमलाई कर्मचारीमैत्री व्यवस्थाका रूपमा हेरिएको छ ।
अतिरिक्त कार्यालय सञ्चालनबारे नयाँ व्यवस्था
संशोधित निर्देशनअनुसार राष्ट्र बैंक खुलेको दिन तथा राष्ट्र बैंकको बैंकिङ कार्यालयले कारोबार गर्ने समयसम्म बैङ्कहरूले अनिवार्य रूपमा आफ्नो कार्यालय खोली बैंकिङ सेवा सञ्चालन गर्नुपर्नेछ ।
राष्ट्र बैंक खुलेको दिन र समयभन्दा बाहिर वा अन्य बिदाका दिनमा बैंकिङ कारोबार सञ्चालन गर्न चाहेमा सम्बन्धित बैंकले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई लिखित जानकारी दिनुपर्नेछ ।
नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म आवश्यक विभाग खुला राखी सेवा सुचारु गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन नम्बर २१ मा बुँदा नम्बर २३ थप गर्दै उक्त व्यवस्था लागू गरेको हो ।
अपाङ्गमैत्री तथा समावेशी सेवा अनिवार्य
ग्राहक सेवा पहुँचलाई थप समावेशी बनाउन राष्ट्र बैंकले बैङ्कहरूलाई विशेष दायित्वसमेत तोकेको छ । अब सबै बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षरता नभएका सेवाग्राहीका लागि विशेष काउन्टर तोकी प्राथमिकताका साथ सेवा प्रदान गर्नुपर्नेछ ।
त्यस्तै, प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखालाई अपाङ्गमैत्री बनाउनु अनिवार्य गरिएको छ । यस्ता शाखामा सहज पहुँच, आवश्यक भौतिक संरचना तथा विशेष सेवा सुविधा उपलब्ध गराउनुपर्नेछ । अपाङ्गमैत्री शाखाहरूको विवरण सम्बन्धित बैङ्कहरूले आफ्ना आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
‘एटिएम लाउञ्ज’ भएका स्थानमा ब्रेल लिपिका सङ्केत तथा ध्वनि सहयोगसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्नेछ । साथै, दृष्टिविहीन मैत्री प्रविधिसहितका क्रेडिट तथा डेबिट कार्ड उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा इजाजतप्राप्त संस्थाले त्यस्ता सेवा उपलब्ध गराउनुपर्नेछ । बैङ्कहरूको वेबसाइट तथा मोबाइल बैंकिङ एपसमेत दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्नेछ ।
उत्तरदायी र श्रममैत्री बैङ्किङतर्फ
राष्ट्र बैंकको संशोधित निर्देशनले बैंकिङ सेवा वितरणलाई थप उत्तरदायी, समावेशी र श्रममैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ व्यवस्थासँगै बैंकका कर्मचारी ओभरटाइमका लागि बाध्य नहुने र ग्राहक सेवामा समेत समावेशिताको स्तर उकासिने अपेक्षा गरिएको छ ।