वीरगञ्ज । वीरगञ्जस्थित साउथ सिटी कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले शिक्षक तथा प्रेरक श्यामविकेश महतोलाई कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
शनिबार आयोजित एक विशेष कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक नरेश प्रसाद यादव, सञ्चालक डा. विनोद प्रसाद यादवलगायतको टोलीले महतोलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेको हो ।
पर्सा जिल्लाका विभिन्न शैक्षिक संस्थामा आबद्ध अङ्ग्रेजी विषयका शिक्षक महतो विद्यार्थीमाझ निकै लोकप्रिय छन् । उनले युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमार्फत निःशुल्क रूपमा अङ्ग्रेजी भाषा शिक्षण गर्दै आएका छन् । विशेषगरी परीक्षा तयारी, व्याकरण तथा बोलचालका कक्षामार्फत हजारौँ विद्यार्थीलाई सहयोग पुर्याउँदै आएका कारण उनी देशभरका विद्यार्थीहरू माझ चर्चित बनेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रबन्ध निर्देशक यादवले श्यामविकेश महतोको शैक्षिक योगदानको प्रशंसा गर्दै कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी आकर्षणमा उनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक गतिविधि सञ्चालन गरिने बताए ।
यसैगरी कलेजका सञ्चालक डा. यादवले महतोको नियुक्तिले कलेजलाई नयाँ ऊर्जा र पहिचान दिने उल्लेख गरे । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कलेज सधैँ प्रतिबद्ध रहेको बताउँदै ब्रान्ड एम्बेसडरको रूपमा महतोले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त ब्रान्ड एम्बेसडर श्यामविकेश महतोले कलेजप्रति आभार व्यक्त गर्दै आफूले शिक्षा क्षेत्रको उन्नयनका लागि निरन्तर प्रयास गर्ने बताए । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र सही मार्गदर्शन प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै साउथ सिटी कलेजसँग सहकार्य गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।