वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा बस्दै आएका पारस जैन (वास्तविक नाम पारस दुग्गाड) विगत दुई सातादेखि सम्पर्कविहीन भएका छन् । भारतका नागरिक जैन विगत दुई दशकदेखि वीरगञ्जमा व्यवसाय गर्दै आइरहेका थिए । उनी वीरगञ्ज महानगरपालिका–८ लिंकरोडस्थित पारस इलेक्ट्रिकका सञ्चालक हुन् ।
स्थानीय स्रोतका अनुसार जैनले व्यवसाय विस्तार गर्ने नाममा विभिन्न वित्तीय संस्था, स्थानीय व्यवसायी तथा चिनजानका व्यक्तिहरूसँग ठुलो रकम उधारोमा उठाएका थिए । प्रारम्भिक अनुमानअनुसार उनले झन्डै एक दर्जन व्यक्तिबाट ७–८ करोड रुपैयाँ सङ्कलन गरेर फरार भएको आरोप छ ।
दुई सातादेखि उनी सम्पर्कमा नआएपछि लिंकरोडस्थित उनको पसल बन्द रहेको छ । पसलको सटरमा बैंक तथा वित्तीय संस्थाहरूले ऋणसम्बन्धी सूचना टाँसिएको छ ।
जैनले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८५५०२५१७९ र भारतीय नम्बर ९५५००२५१७९ दुवैमा सम्पर्क गर्दा फोन नलागेको पीडितहरूले बताएका छन् ।
घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् । प्रहरी स्रोतका अनुसार उजुरीको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
अनौपचारिक रूपमा उनी भारतको कलकत्तामा रहेको भन्ने सूचना प्राप्त भएको भए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
पीडित व्यवसायीहरूले आफूहरू गम्भीर आर्थिक सङ्कटमा परेको बताउँदै दोषीलाई छिटो कानुनी दायरामा ल्याई आफ्नो रकम फिर्ता गराउन माग गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
पछिल्लो समय भारतीय व्यवसायीहरूले नेपालीहरूको रकम लिएर फरार हुने क्रम बढ्दै गएको छ ।