×

वीरगञ्ज । मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीले ‘घुमौं मधेस, बुझौं प्रदेश’ भन्ने नारासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनात्मक यात्रा सम्पन्न गरेका छन् । जेठ ८ गतेबाट सुरु भएको यात्रा सोमबार सम्पन्न भएको हो ।

नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेस प्रदेश का अध्यक्ष मोहन शर्मा लामिछाने का अनुसार जेठ २८ देखि ३१ गतेसम्म मधेसमा आयोजना हुन लागेको मधेस टुरीजम मार्ट लाई लक्षित गर्दै गण्डकी प्रदेशका पर्यटन व्यवसायीसँग समन्वय तथा सहकार्य विस्तार गर्ने उद्देश्यले यात्रा गरिएको हो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश को नेतृत्वमा मधेसका ३५ जना पर्यटन व्यवसायी गण्डकी यात्रामा सहभागी भएका थिए । महासंघका अध्यक्ष हिरा गौतम का अनुसार भ्रमणका क्रममा बन्दिपुर, पोखरा र सौराहा मा स्थानीय पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरिएको थियो ।

भ्रमण टोलीले गण्डकी प्रदेश पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मधेसका पर्यटकीय गन्तव्यसम्म ल्याउने सम्भावनाबारे छलफल गरेको जनाएको छ । बन्दिपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा लगायत स्थानीय व्यवसायीसँग छलफल गरिएको थियो ।

त्यसैगरी पोखरामा पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई तथा सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलिया नेतृत्वको टोलीसँग अन्तर–प्रदेश पर्यटन प्रवर्द्धनबारे छलफल गरिएको थियो ।

आयोजकका अनुसार मधेस टुरिजम मार्टमा पर्सा राष्ट्रिय निकुञ्ज, जनकपुरधाम तथा सखडा भगवती लगायत मधेसका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिनेछ । मार्टमा नेपाल र भारतका विभिन्न शहरबाट होटल व्यवसायी, टुर्स अपरेटर तथा डिजिटल कन्टेन्ट क्रियटरहरूको सहभागिता गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड को आयोजना, नाट्टा मधेस प्रदेशको संयोजन तथा विभिन्न स्थानीय तह र संघसंस्थाको सहकार्यमा हुने मधेस टुरिजम मार्टले मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

Back to top