×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डले जेठ १६ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याउने जनाएको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा जेठ ११ गते बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

सूचनामा भनिएको छ, “स्वास्थ्य बिमा बोर्डको वित्तीय सङ्कटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमा सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

निर्णयसँगै निजी अस्पताल तथा मेडिकल कलेजमार्फत स्वास्थ्य बिमा सेवा लिँदै आएका सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहने बोर्डले जनाएको छ ।

बोर्डले पछिल्लो समय बढ्दै गएको दायित्व र स्रोत अभावका कारण यस्तो कदम चाल्नुपरेको स्पष्ट पारेको छ । अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था कायम रहने जनाइएको छ ।

सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट नियमित उपचार सेवा लिँदै आएका बिरामीहरू अब सरकारी स्वास्थ्य संस्थातर्फ केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न सक्ने अनुमान गरिएको छ ।

Back to top