×

फाइल तस्बिर ।

वीरगञ्ज । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना देखिएको छ ।

महाशाखाका अनुसार अहिले कोसी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ । बाँकी तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहेको छ । कोसी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने अनुमान छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Back to top