फाइल तस्बिर ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत (निजी) विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ ।
आर्थिक रूपमा कमजोर तथा जेहनदार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो ।
महानगरपालिकाका अनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
आवेदन दिएका विद्यार्थीहरूको लिखित परीक्षा सञ्चालन गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।
कक्षा ९ का लागि २०८२ सालको नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसइई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम बुधवार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ । आवेदन महानगरपालिकाको आधिकारिक छात्रवृत्ति पोर्टल scholarship.birgunjmun.gov.np मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।
महानगरपालिकाले विगत केही वर्षदेखि संस्थागत विद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।