फाइल तस्बिर ।
वीरगञ्ज । गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने गर्ने छैनन् ।
गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले शीतल निवासमा पत्र पठाएका थिए । सोही अनुरोधअनुसार यस वर्षको समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि भने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।
प्रधानमन्त्री शाहले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरेका हुन् ।
यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष प्रस्ताव पेस गरेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिस्कारबिच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
निर्वाचित भएपछि प्रधानमन्त्री शाहले देशवासीका नाममा औपचारिक सम्बोधन पनि गरेका छैनन् । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताहरूले सार्वजनिक रूपमा धारणा राखिसके पनि प्रधानमन्त्री शाह भने हालसम्म कुनै औपचारिक सम्बोधनमा देखिएका छैनन् ।