×

सिरहा । सामाजिक सञ्जालमा विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गरी समाजमा आतंक फैलाउने, सार्वजनिक शान्ति भंग गर्ने तथा युवाहरूलाई संगठित गर्ने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ‘बालनका राजा’, ‘भगवानपुरका राजा’, ‘लहानका राजा’ र ‘हत्यारा भाइ’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समूह सञ्चालन गर्दै गालीगलौज, धम्कीपूर्ण सामग्री पोस्ट गर्ने र ग्याङ्ग संस्कृतिलाई प्रोत्साहन गर्ने गतिविधि भइरहेको थियो।

त्यस्तै, बिना हेल्मेट, आवश्यक कागजपत्रबिनै तथा नम्बर प्लेट नभएका मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार भई राजमार्गमा होहल्ला गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुर्‍याउने गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जनाएको छ।

सिरहा–चोहर्वा सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना गरी कुल २५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै ग्याङ्ग संस्कृतिलाई बढावा दिने, आतंक फैलाउने तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Back to top