×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । उनीहरूलाई स्वदेश फिर्ता ल्याएर परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको माइती नेपाल वीरगञ्ज आवधिक गृहले जनाएको छ ।

गृह प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश तथा नेपाली दूतावास नयाँ दिल्लीको समन्वयमा महोत्तरी र बाराका दुई किशोरीलाई उद्धार गरी वीरगञ्ज ल्याइएको हो ।

उद्धार गरिएकामध्ये एक जना महोत्तरीको औरही नगरपालिका–२ की १७ वर्षीय र अर्की बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ की १६ वर्षीय किशोरी हुन् ।

प्राप्त जानकारीअनुसार दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाड्दै भारत पुगेका थिए । महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा परी भारतको छपरा पुगेकी थिइन् । उनलाई राम्रो आम्दानी हुने काम र धार्मिक स्थल घुमाउने आश्वासन दिइएको थियो ।

त्यसैगरी बाराकी किशोरी गाउँकै साथीसँग भारतको बिहारस्थित छपरा पुगेकी थिइन् । होटेलमा काम गरिरहेकी उनलाई बढी आम्दानी हुने भन्दै विवाह तथा साङ्गीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरिएको थियो ।

दुवै किशोरी भारतमा गैरकानुनी रूपमा सञ्चालन हुने ‘अर्केस्ट्रा’ समूहसँग सम्बन्धित गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए । त्यसपछि उनीहरूलाई बिहारको बाल संरक्षण गृहमा राखिएको थियो ।

नेपाली दूतावास, भारतीय बाल कल्याण समिति तथा माइती नेपाल वीरगञ्जको समन्वयमा उद्धार गरिएका किशोरीहरूको पारिवारिक पुनर्मिलनको प्रक्रिया अघि बढाइएको छ ।

सरोकारवाला निकायहरूले किशोर–किशोरीलाई प्रलोभनमा पारेर विदेश लैजाने घटनाप्रति सचेत रहन अभिभावक तथा समुदायलाई आग्रह गरेका छन् ।

Back to top