×

वीरगञ्ज । विश्व धूम्रपान रहित दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पर्साले विचार गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा धूम्रपान तथा लागू पदार्थ सेवनका कारण समाजमा बढ्दो चुनौतीबारे चर्चा गर्दै युवापुस्तालाई कुलतबाट जोगाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पर्साकी क्षेत्रीय सञ्चालिका रविना दिदीको सभापतित्वमा सम्पन्न भएको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी निरीक्षक सुवेदीले नेपालमा धूम्रपान तथा लागू औषध सेवनका कारण हुने मृत्युको संख्या चिन्ताजनक रहेको उल्लेख गरे। उनले यस्ता विकृतिहरू न्यूनीकरण गर्न प्रहरी प्रशासन विभिन्न सामाजिक तथा जनचेतनामूलक संस्थासँग सहकार्य गर्न तयार रहेको बताए।

उनले विशेषगरी युवापुस्तामा कुलतको प्रभाव बढ्दै गएको भन्दै अभिभावकले आफ्ना बालबालिका र किशोरकिशोरीमाथि समयमै निगरानी तथा उचित मार्गदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईंले धूम्रपान तथा लागू पदार्थविरुद्धका जनचेतनामूलक कार्यक्रम विद्यालयस्तरदेखि नै नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले क्याम्पस तहका विद्यार्थीहरूमा समेत चुरोट तथा अन्य कुलतको समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै रोकथामका लागि प्रभावकारी अभियान आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले धूम्रपान तथा लागू पदार्थ सेवनले युवापुस्ताको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पार्ने भएकाले सचेतना अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा रेनु दिदी, सन्जु, अरुण, अजय लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य बेली दिदीले राखेकी थिइन् भने सहजीकरण गोवर्धन भाइले गरेका थिए।

सहभागीहरूले धूम्रपान तथा लागू पदार्थमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, सामाजिक संस्था र सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष समेत व्यक्त गरेका थिए।

Back to top