फाइल तस्बिर ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पर्साको ठोरीबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।
सिंहलाई पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित ठोरी भिलेज रिसोर्टबाट मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीबाट खटिएको विशेष टोलीले सिंहलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए ।
पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी मुद्दामा ८ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नागरिकता लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि गत मङ्गलवार (जेठ १२ गते) पनि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह भोलिपल्टै बुधवार बिहान स्वेच्छाले पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । उनले सञ्चारमाध्यममार्फत आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न अदालतमा उपस्थित भएको बताएका थिए । तर, मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसक्ने जानकारी अदालत प्रशासनबाट पाएपछि उनी फर्किएको बताएका थिए । सार्वजनिक बिदा सकिएपछि पुनः अदालतमा उपस्थित हुने जानकारी गराएर फर्किएको उनले बताएका थिए ।
अदालतले मेयर सिंहसहित उनकी कान्छी श्रीमती तथा सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरीका रूपमा देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोपमा लिखत किर्ते सम्बन्धी मुद्दा दायर भएको हो । यद्यपि मेयर सिंहले रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।
सरकारी वकिलको कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए । सोही उजुरीका आधारमा चार वटा मुद्दा दायर भएकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिएका छन् ।
यसअघि मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार अदालत नजिकै रहेको एक जना कानुन व्यवसायीको कार्यालयबाट नियन्त्रणमा लिएको थियो । यद्यपि, उनलाई नियन्त्रणमा राख्न कुनै आधार र प्रमाण नभेटिएपछि राती रिहा गरिएको थियो । डिएसपी बस्नेतका अनुसार सामान्य सोधपुछ पश्चात् घिमिरेलाई रिहा गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।