×

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेस प्रदेशमै पहिलो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका वडा नं. ५ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आगामी आर्थिक वर्षमा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले सहुलियत दरमा पालिका औषधि पसल सञ्चालन, औराहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार, खाल्डामुक्त पालिका अभियानअन्तर्गत सडक एम्बुलेन्स सञ्चालनलगायतका नयाँ कार्यक्रम समावेश गरिएको जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार सामुदायिक स्वास्थ्य सेवा सञ्चालन, गरिब तथा दलित बस्ती र टोलमा निःशुल्क ट्युसन कक्षा सञ्चालन, अनलाइन कोचिङ कार्यक्रम, सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणालीको व्यवस्था तथा कृषकलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइका लागि मोटर वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि प्रयोगशाला सञ्चालन तथा गाउँपालिकाको आफ्नै भवनबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने योजना समेटिएको बताइन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया, अयोध्या प्रसाद पटेललगायत गाउँसभा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक प्रभेन्द्र साहले गरेका थिए ।

Back to top