वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य रोक्न माग गर्दै स्थानीयवासी तथा प्रभावित पक्षले मङ्गलवार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
‘विकासको नाममा विनाश गर्न पाइँदैन’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका सहभागीहरूले सडक विस्तारका क्रममा घर तथा व्यावसायिक संरचना भत्काउने कार्य तत्काल रोक्न तथा तथाकथित ‘डोजर आतङ्क’ अन्त्य गर्न सरकारसँग माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले वीरगञ्जको मेनरोडलाई सहरी मार्गका रूपमा कायम गर्नुपर्ने, सर्वोच्च अदालतबाट पीडित पक्षले न्याय पाउनुपर्ने तथा सडक विस्तारका नाममा नागरिकको उठीबास लगाउन नहुने भन्दै नाराबाजी गरेका थिए ।
वीरगञ्ज सडक पीडित सङ्घर्ष समितिका संयोजक कुन्दन रौनियारले कानुनी प्रक्रिया पूरा गरी दशकौँअघि निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवारको जीवन प्रभावित हुने दाबी गरे । उनले प्रभावित पक्षले उचित मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको लामो समय बितिसक्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।
रौनियारले वीरगञ्जको मेनरोडलाई सहरी मार्गका रूपमा कायम गरी स्थानीयवासीको अधिकार, सम्पत्ति तथा जीविकोपार्जनको संरक्षण गर्न सरकारसँग आग्रह गरे ।
सडक विस्तार योजनालाई लिएर प्रभावित स्थानीयवासी र सरोकारवाला निकायबिच विवाद बढिरहेका बेला पीडित पक्षले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।