वीरगञ्ज । विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा साताव्यापी कार्यक्रमअन्तर्गत मङ्गलवार व्यापक सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ रानिघाटस्थित जीवन ज्योति स्कुल परिसरबाट सुरु भएको सरसफाइ अभियान गल्ली, सडक तथा पेटी हुँदै घण्टाघरसम्म पुगेको थियो । त्यसपछि सहभागीहरूले वीरगञ्ज चिनीमिल आवास क्षेत्रस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसरमा समेत सरसफाइ गरी वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाएका थिए ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा जीवन ज्योति स्कुलकी सञ्चालक मिनाक्षी कर्माचार्य गुप्ता, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान् श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू नारायण सिंह, केदार गुप्ता, भोला प्रसाद, सञ्चारकर्मी आकाश पटेल, शिक्षक दीपा थापा, चन्दन सिंह तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले प्रकृतिबिना पृथ्वी र मानव जीवनको कल्पना गर्न नसकिने उल्लेख गर्दै आफ्नो वरपरको वातावरण सफा राखेर प्रकृतिप्रति सम्मान प्रकट गर्नुपर्ने बताए । उनले वातावरण संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गरेकोमा प्रकृति सेवा प्रतिष्ठान र सहभागीहरूलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले विश्व वातावरण दिवसलाई लक्षित गरी जेठ १८ देखि २२ गतेसम्म विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले प्रकृतिप्रति जिम्मेवारी बोध जगाउने, वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने तथा सरसफाइ संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
सरसफाइ अभियानका क्रममा विद्यार्थीहरूले विभिन्न सन्देशमूलक नारामार्फत सरसफाइको महत्त्व र प्रकृतिप्रतिको सम्मानबारे स्थानीयवासी तथा श्रद्धालुहरूलाई सचेत गराएका थिए । विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले आफूलाई निकै उत्साहित र भावुक बनाएको उल्लेख गर्दै अध्यक्ष सिंहले सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारीहरूप्रति आभार व्यक्त गरे ।
आयोजकका अनुसार वातावरण संरक्षण, सरसफाइ र प्रकृतिप्रति उत्तरदायित्वबोध अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी कार्यक्रम सञ्चालन गरिएको हो ।