×

रौतहट । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) मार्फत रौतहटको राजदेवी नगरपालिका–४ गडहियास्थित आधारभूत विद्यालयको दुईतले पक्की भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।

मंगलबार आयोजित एक समारोहबीच वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले विद्यालय भवनको शिलान्यास गरेका हुन्। परियोजनाअन्तर्गत भारत सरकारले २ करोड ९६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ भने राजदेवी नगरपालिकाले २० लाख रुपैयाँ बराबरको योगदान गर्नेछ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै महावाणिज्यदूत मिनाले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूका लागि थप कक्षाकोठा, शौचालय तथा अन्य आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध हुने बताए। उनले यस परियोजनाले विद्यालयको भौतिक संरचना सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई गुणस्तरीय र सुविधा सम्पन्न शिक्षण वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।

मिनाले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै मधेश प्रदेशमा विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्य संस्था, सडक तथा अन्य आधारभूत पूर्वाधार निर्माणका विभिन्न परियोजना सञ्चालन हुँदै आएको बताए। उनले भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा आधारभूत पूर्वाधार विकासमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्दै आएको पनि स्मरण गराए।

उनका अनुसार एचआईसीडीपी अन्तर्गत मधेश प्रदेशमा स्वीकृत ८७ परियोजनामध्ये अधिकांश सम्पन्न भइसकेका छन्। रौतहट जिल्लामा रहेका सात परियोजनामध्ये तीन सम्पन्न भइसकेका छन् भने चार परियोजनाको निर्माण कार्य जारी रहेको छ।

महावाणिज्यदूत मिनाले भारत सरकारले हालसम्म मधेश प्रदेशमा २२८ एम्बुलेन्स र ४० वटा विद्यालय बस उपहारस्वरूप उपलब्ध गराइसकेको जानकारी दिँदै रौतहट जिल्लाले मात्रै २० एम्बुलेन्स र चार विद्यालय बस प्राप्त गरेको बताए। उनले यी साधनहरूले स्वास्थ्य सेवा तथा शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका काउन्सुल अजय जैन, नेकपाका केन्द्रीय सदस्य रेबन्त झा, जसपाका केन्द्रीय सदस्य अनिलकुमार सिंह, जसपा नेता श्रीमन नारायण मिश्र, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवनले स्थानीय शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा रौतहटमा थप विकास परियोजनाका लागि सहयोगको अपेक्षा गरेका थिए।

विद्यालय भवन निर्माणका लागि ४ करोड ३२ लाख ५१ हजार ७४७ रुपैयाँ १४ पैसाको लागत अनुमान तयार गरिएको छ। निर्माणको ठेक्का गौरी गणेश कन्स्ट्रक्सन, गौर–९ रौतहटले भ्याटसहित ३ करोड ६३ लाख ६ हजार २४३ रुपैयाँ ९७ पैसामा प्राप्त गरेको छ। निर्माण कार्य २०८४ साल जेठ २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सोही अवसरमा महावाणिज्यदूत मिनाले परियोजनाको पहिलो किस्ताबापत ६३ लाख १० हजार ३८६ रुपैयाँको ड्राफ्ट चेक नगरप्रमुख यादवलाई हस्तान्तरण गरेका थिए।

Back to top