×

वीरगञ्ज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई पार्टी फुटाउने वा नयाँ राजनीतिक दल गठन गर्ने कुनै चाहना नभएको स्पष्ट पारेका छन्।

सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै नेता खनालले जीवनभर गुटबन्दीको विरोध गर्दै आएको उल्लेख गर्दै पार्टी विभाजन गर्ने वा नयाँ दल स्थापना गर्ने विषयमा भइरहेका प्रचारप्रति असन्तुष्टि व्यक्त गरे।

उनले वर्तमान लोकतान्त्रिक व्यवस्थाको अधिकतम सदुपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको धारणा राखे।

आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र वैचारिक विचलनलाई बहस र छलफलमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसै उद्देश्यले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए।

वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु वर्तमान समयको आवश्यकता रहेको उनको भनाइ थियो। आन्दोलनभित्र रहेका भ्रम र अन्योललाई हटाउन पुस्तकले सहयोग पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे।

नेता खनालले केही व्यक्तिले आफू नयाँ पार्टी खोल्न लागेको वा पार्टी फुटाउन खोजिरहेको भन्ने गलत प्रचार गरेको उल्लेख गर्दै त्यस्ता भ्रमपूर्ण प्रचारप्रति विश्वास नगर्न आग्रह गरे। उनले गुटबन्दीले राजनीतिक आन्दोलनलाई कमजोर बनाउने भएकाले त्यसको सधैँ विरोध गर्दै आएको बताए।

साथै उनले वैचारिक मतभेदलाई विभाजनको आधार बनाउनुको सट्टा संवाद, बहस र विचारको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

Back to top