वीरगञ्ज । पार्टी पुनर्गठन, रूपान्तरण तथा पुनःसंरचनाको पक्षमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवाहरूले ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत मत सङ्कलन अभियान सुरु गरेका छन्।
असार १२ गतेदेखि सुरु भएको अभियान असार २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका पार्टीका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकबाट विभिन्न विषयमा सुझाव सङ्कलन गरिने अभियानका संयोजक गजेन्द्र थपलियाले जानकारी दिएका छन्।
उनका अनुसार अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण तथा आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने विषयमा कार्यकर्ता र शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु हो।
सहभागीहरूले विभिन्न विषय समेटिएका १८ वटा प्रश्नको उत्तर दिई आफ्नो सुझाव दिन सक्ने व्यवस्था गरिएको छ। प्राप्त सुझावलाई पूर्ण रूपमा गोप्य राखिने र त्यसको निष्कर्ष पार्टीसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिने अभियान पक्षले जनाएको छ।
संयोजक थपलियाले पार्टीले अहिले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलमार्फत विभिन्न प्रदेशमा पुगेर चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गरिरहेको भए पनि त्यो प्रक्रिया सीमित दायरामा रहेको बताए।
उनका अनुसार तल्लो तहका कार्यकर्ता, समर्थक, शुभेच्छुक, स्वतन्त्र नागरिक तथा अन्य राजनीतिक दलका इच्छुक व्यक्तिको धारणा समेत समेट्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
पार्टीभित्र पुनर्गठन र रूपान्तरणबारे बहस चलिरहेका बेला कार्यकर्ता र समर्थकको प्रत्यक्ष रायलाई महत्व दिन आवश्यक रहेको उल्लेख गर्दै उनले सङ्कलित सुझाव उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदललाई बुझाइने जानकारी दिए।
अभियान पक्षले पार्टीको रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमार्फत कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन सकिने विश्वास व्यक्त गरेको छ। साथै सहभागीले दिएका सबै सुझाव गोपनीय राखिने प्रतिबद्धता समेत जनाइएको छ।
यसअघि पनि यही समूहले पार्टीको विधान महाधिवेशनअघि उमेर हद र कार्यकालसम्बन्धी विषयमा मत सङ्कलन गरी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो। यसपटक भने सर्वेक्षणको समग्र नतिजा सार्वजनिक गरिने अभियानका संयोजक थपलियाले बताएका छन्।