वीरगञ्ज । हेलमेट बिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नै निवास परिसरमा हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।
भिडियो सार्वजनिक भएसँगै ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर शाहलाई ‘हेलमेट नलगाई सवारी चलाएको’ कसुरमा ५०० रुपैयाँ जरिवानाको चिट काटेको हो ।
पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गरेका छन् । उनले नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको र कारबाहीका लागि धन्यवाद दिएको बताए ।
कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उनको भनाइ थियो । साथै उनले सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेलमेटबिना बाइक चलाएको भिडियो सार्वजनिक गरेका थिए । केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा थप टीकाटिप्पणी भएको थियो ।