वीरगञ्ज । फिफा विश्वकपअन्तर्गत राउन्ड अफ १६ मा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएपछि पाँच पटकको विश्व च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनले नर्वेलाई ऐतिहासिक जित दिलायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्णायक क्षण अन्त्यतिर आयो । हालान्डले ७९औँ मिनेटमा पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए भने ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–० मा पुर्याए । इन्ज्युरी समयमा ब्राजिलले पेनाल्टी पायो, जसलाई कप्तान नेयमारले गोलमा परिणत गर्दै अन्तर घटाए पनि खेल फर्काउन पर्याप्त भएन ।
हारसँगै सन् १९९० पछि पहिलो पटक ब्राजिल विश्वकपको यस चरणबाट बाहिरिएको हो । खेलको अन्तिम सिट्टी बज्नासाथ ३४ वर्षीय नेयमार मैदानमै भावुक बनेका थिए । सहकर्मी खेलाडीहरूले उनलाई सान्त्वना दिएका दृश्यले समर्थकहरूलाई पनि भावुक बनायो ।
नेयमारको अन्तर्राष्ट्रिय संन्यास
खेलपछि ब्राजिलियन सञ्चारमाध्यम ‘ग्लोबो’सँग कुरा गर्दै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । उनले भने, “मैले प्रयास गरेँ । अब यो सकियो । मैले यहाँबाट सुरु गरेँ, मैले यहाँबाट अन्त्य गरेँ ।”
सन् २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट यही मेटलाइफ स्टेडियममा अन्तर्राष्ट्रिय डेब्यु गरेका नेयमारले आफ्नो अन्तिम खेल पनि सोही मैदानमा खेलेका हुन् ।
नेयमारले ब्राजिलका लागि १३० खेल खेल्दै ८० गोल गरेका छन् । महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमानलाई उछिन्दै उनी ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । सर्वाधिक खेल खेल्ने सूचीमा भने उनी १४२ खेल खेलेका काफु पछि दोस्रो स्थानमा छन् ।
नेयमार चार फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन खेलाडीसमेत हुन् । उनले ब्राजिललाई २०१३ को कन्फेडेरेसन कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए भने २०१६ रियो ओलम्पिकमा स्वर्ण पदक दिलाउने टोलीका कप्तान थिए ।
नर्वेको ऐतिहासिक यात्रा
नर्वेका लागि यो जित ऐतिहासिक मानिएको छ । हालान्डले प्रतियोगितामा सात गोल पुर्याउँदै गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएका छन् । अब नर्वेले जुलाई ११ मा मियामीमा हुने क्वाटरफाइनलमा इंगल्याण्ड वा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलका समर्थकहरूका लागि भने यो विश्वकप निराशाजनक रह्यो । नयाँ पुस्ताका खेलाडीहरूसँग टोली पुनर्निर्माणको चुनौती अब ब्राजिलियन फुटबल महासंघसामु खडा भएको छ । नेयमारको सन्याससँगै एक युगको अन्त्य भएको छ, जसले ब्राजिलियन फुटबलमा करिब डेढ दशकसम्म आफ्नो प्रभाव जमाएका थिए ।