वीरगञ्ज । संविधानसभा सदस्य तथा नेकपा (एमाले) मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले सडक विकास नै समग्र विकासको मेरुदण्ड भएको बताएका छन्। उनले जनताको जीवनस्तर सुधारका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरे।
बुधबार वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा ब्रम्हबाबा मन्दिरदेखि सातोमाई मन्दिर हुँदै मेघराज पासवानको घर र सोहन हजराको घरसम्म निर्माण हुने सडक ढलान तथा नाला निर्माण योजनाको शिलान्यास गर्दै यादवले पूर्वाधार विस्तारले स्थानीय विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।
उनले लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएको उक्त क्षेत्रमा सडक र नाला निर्माण भएपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै वर्षायाममा हुने जलजमावको समस्या पनि समाधान हुने बताए। उनले यो आयोजना स्थानीय बासिन्दाको दैनिकी सहज बनाउन महत्वपूर्ण उपलब्धि सावित हुने उल्लेख गरे।
यादवका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत करिब ३५० मिटर लामो र १० फिट चौडा सडक ढलान तथा नाला निर्माण कार्य सुरु गरिएको हो। उनले निर्माण कार्य गुणस्तरीय, पारदर्शी र निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए।
लामो समयदेखि सडक र नालाको अभाव झेल्दै आएका स्थानीयवासीले निर्माण कार्य सुरु भएपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले समयमै निर्माण सम्पन्न भए यस क्षेत्रको यातायात, सरसफाइ र वर्षायाममा हुने जलजमावको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।