×

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ घर भई हाल वीरगञ्ज–२४ रामगढवामा डेरा गरी बस्दै आएका २१ वर्षीय राहुल बैठा र उनीसँगै बस्ने सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा रामगढवास्थित राहुल बैठाको डेरा कोठामा छापा मारेको थियो। छापामार कारबाहीका क्रममा प्रहरीले ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र एक पुडिया गाँजा बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले हिरासतमा राखेको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रहरीले लागूऔषध नियन्त्रण तथा ओसारपसारमा संलग्न व्यक्तिविरुद्ध अभियानलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

Back to top