×

वीरगञ्ज । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित इन्डो–नेपाल मैत्री पुलबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका एक बंगलादेशी नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।

मंगलबार राति नियमित गस्ती तथा सघन जाँच अभियानका क्रममा ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि एसएसबीले रोकेर कागजात जाँच गरेको थियो। जाँचका क्रममा उनीसँग बंगलादेशको राहदानी (पासपोर्ट) फेला परेपछि उनी बंगलादेशी नागरिक भएको पुष्टि भएको सुरक्षा स्रोतले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति २७ वर्षीय एमडी शियाम हुसेन रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी बंगलादेशको मुन्सीगञ्ज जिल्लाका निवासी हुन्। उनीसँग रहेको पासपोर्ट नम्बर B00067575 अनुसार उक्त राहदानी सन् २०२० डिसेम्बर ८ मा ढाकाबाट जारी गरिएको थियो, जसको म्याद सन् २०३० डिसेम्बर ७ सम्म रहेको छ।

एसएसबीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनले आफ्नो वास्तविक परिचय लुकाउने प्रयास गर्दै हिन्दु नाम बताएको पाइएको छ। उनीसँग भारत प्रवेशका लागि आवश्यक भिसा वा अन्य वैध कागजात नभएको पनि सुरक्षा निकायले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी यसअघि पनि भारत–नेपाल सीमा क्षेत्रमा आवतजावत गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, त्यसको आधिकारिक पुष्टि भइसकेको छैन। सुरक्षा निकायले उनको मोबाइल फोन, यात्रा मार्ग, नेपालमा सम्भावित बसाइ, भारतमा रहेका सम्पर्क तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि एसएसबीले उनलाई हरैया थाना प्रहरीको जिम्मा लगाएको छ। प्रहरीले उनी वैध अनुमति बिना भारतमा कसरी बसिरहेका थिए, नेपाल प्रवेशको उद्देश्य के थियो र यस घटनामा कुनै संगठित नेटवर्कको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

हरैया थाना प्रमुख किशन कुमारका अनुसार पक्राउ परेका व्यक्तिमाथि गहन सोधपुछ तथा आवश्यक कानुनी प्रक्रिया जारी छ।

हालका दिनहरूमा भारत–नेपाल सीमाबाट अवैध प्रवेशका घटनाहरू बढ्न थालेपछि एसएसबीले सीमा क्षेत्रमा निगरानी, गस्ती तथा कागजात जाँचलाई थप कडाइ गरेको जनाएको छ।

Back to top